दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजको उपाधि भारतले जित्यो


पुस ६, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको उपाधी भारतले जितेको छ। सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई ७८ रनले हराउँदै भारतले उपाधि २–१ ले जितेको हो। २ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ दशमलव ५ ओभरमा २ सय १८ रनमा अल आउट भयो।

दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जोर्जी ८१ रनमा आउट भए। मध्यक्रम र तल्लोक्रम नचल्दा नतिजा दक्षिण अफ्रिकाको पक्षमा गएन। कप्तान एडेन माक्ररम ३६, डेविड मिलर १०, हेनरिक क्लासेन २१, केशव महाराज १४ र बेउरान हेन्डिक्सले १८ रन बनाए।

भारतका अर्शदीप सिंहले चार, आवेश खान र वासिन्टन सुन्दरले दुई–दुई तथा अक्षर पटेल र मुकेश कुमारले समान एक–एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो।

भारतको जितमा सञ्जु स्यामसनले सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए। सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो। तिलक बर्मा ५२ रनमा आउट हुँदा रजत पाटिदार २२, साई सुदर्शन १०, लोकेश राहुल २१ र अक्षर पटेल १ रनमा आउट भए। रिंकु सिंहले ३८ रनको योगदान दिए।

दक्षिण अफ्रिकाका बेउरान हेन्ड्रिक्सले तीन, नान्द्रे बर्गरले दुई, लिजाड विलियम्स, विवान मुल्डर र केशव महाराजले एक–एक विकेट लिए। यसअघि यी दुई टोलीबीच भएको तीन खेलको टी२० सिरिज १–१ को बराबरीमा सकिएको थियो। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?