प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशी विजयी


पुस ६, काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कोशीले बागमति प्रदेशलाई ८ विकेटले पराजित गरेको हो। बागमतिले लिएको ८८ रनको लक्ष्य कोशीले १८.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।

कोशीको जितमा काजल श्रेष्ठको नटआउट ४१ रनको नटआउट र अप्सरी बेगमको ४१ रनको पारि महत्वपूर्ण रह्यो। कप्तान रुविना क्षेत्री भने २ रन बनाएर सुरुमै आउट भएपछि काजल र अप्सरीले पारि सम्हालेका थिए।

४१ रन बनाएर आउट हुँदा अप्सरीले ५४ बलमा १ छक्का र ४ चौका प्रहार गरिन्। उनी आउट भएर क्रिजमा आएकी लकिता राजवंशीले कुनै पनि बल फेस गरिनन् भने अन्त्यमा काजलले छक्का प्रहार गर्दै कोशीलाई जित दिलाइन्। उनले ५१ बलमा १ छक्का र ३ चौकाको मद्दतले ४१ रनको नटआउट पारि खेलेकी हुन्।

बागमतिका लागि सोनी पाख्रिन र संस्कृति फुयाँलले एक एक विकेट लिए। पहिला ब्याटिङ गरेको बागमतिले निर्धारित ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो। बागमतिका लागि सार्वाधिक ४१ रन बनाउने खेलाडी यसोदा विष्ट हुन्। यसैगरी कप्तान अस्मिना कर्माचार्य २४ रन बनाएर रनआउटको शिकार बनिन्।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कन्चन श्रेष्ठले ८ रन बनाउँदा खुसी डंगोल ३ रनमा पभेलियन फर्किइन्। सलिना सिलवालले २ तथा हेलिसा गुरुङ र कृष्मा गुरुङले एक एक रन जोडे।

बागमतिविरुद्ध कोशीका खेलाडीको फिल्डिङ उत्कृष्ट हुँदा ३ जना खेलाडी रनआउटको शिकार भएका थिए। कोशीका लागि अप्सरी बेगम र सबनम राइले दुई दुई विकेट लिँदा संगिता राइले एक विकेट हात पारिन्

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?