हार्वर्ड विश्वविद्यालयकी अध्यक्षले किन दिइन राजिनामा ?
पुस १९, एजेन्सी । विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयकी अध्यक्ष क्लाउडिन गेले पदबाट राजीनामा दिएकी छन्। उनी इजरायल–हमास द्वन्द्वको बीचमा साहित्यिक चोरी र यहुदीविरोधी अभिव्यक्तिको आरोपको सामना गर्दै आएकी थिइन्।
उनलाई पद छाड्न चौतर्फी दबाब बढेको थियो। इजरायल हमास युद्ध सुरु भएपछि उनले हमासको पक्ष पोषण गरेको आरोप लागेको थियो । सोही विषयमा आलोचना बढ्दै जाँदा अन्ततः उनले राजीनामा दिएकी हुन्।
आफ्नो राजीनामाको घोषणा गर्दै पत्रमा उनले आफ्नो वहिर्गमन विश्वविद्यालयको ‘सर्वोत्तम हित’ को रुपमा उल्लेख गरेको बीबीसीले जनाएको छ। आफ्नो राजीनामाले हार्वर्डलाई ‘व्यक्तिगत भन्दा संस्थामा ध्यान केन्द्रित गर्न’ सहजता प्रदान गर्ने पनि उल्लेख गरेकी छन्।
गेले ६ महिना हार्वर्ड विश्वविद्यालयमा अध्यक्षका रुपमा काम गरिन्। उनी विश्वविद्यालयको नेतृत्व गर्ने पहिलो अश्वेत व्यक्ति र दोस्रो महिला थिइन्। उनको कार्यकाल विश्वविद्यालयको इतिहासमा सबैभन्दा छोटो हो। विश्वविद्यालय ३८८ वर्ष अगाडि स्थापना भएको इतिहास छ।
हार्वर्ड अमेरिकाका धेरै विश्वविद्यालयहरूमध्ये एक हो। जसलाई अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएपछि आफ्ना यहुदी विद्यार्थीहरूको सुरक्षा गर्न असफल भएको आरोप लागेको छ। गाजामा युद्ध सुरु भएदेखि नै अमेरिकामा यहुदी विरोधी विरोधी घटनाहरू बढेका छन्।