राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै
पुस २२, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन लगायत विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। वर्तमान सत्तागठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मतभेद छ।
यसअघि केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले त्यसबारे विभाजित धारणा राखेका थिए भने बैठकले अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको थियो। १९ सिटका लागि हुने निर्वाचनमा गठबन्धनमा कांग्रेसका भागमा कति सिट पर्ने भन्ने अझै निश्चित छैन। तर गठबन्धनमा कांग्रेसले १३ सिट दाबी गरिरहेको छ।
जबकि सात प्रदेशबाट उम्मेदवारका आकांक्षीहरूको संख्या भने चार सय हाराहारी छ। पार्टीभित्र असन्तुष्टि नहोस् भन्ने हिसावले सिटको टुंगो लाग्नेबित्तिकै उम्मेदवार चयनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ।