अफगानिस्तानविरुद्ध टी २० मा भारतको सहज जित


पुस २७, काठमाडौं । अफगानिस्तानविरुद्धको तीन खेलको टी २० क्रिकेटमा भारतले सुखद् सुरुआत गरेको छ। मोहालीमा आज भएको खेलमा भारतले ६ विकेट जित निकाल्दै सिरिजमा १–० को अग्रता लिएको हो।

अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य भारतले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। भारतलाई जिताउनका लागि शिवम दुवेले उत्कृष्ट पारि खेले। १४ महिनापछि टी २० मा कमब्याक गरेका कप्तान रोहित शर्मा भने फ्लप भए । उनले २ बल फेस गर्दा खाता नखोल्दै रनआउट भएका थिए।

रोहित आउट भएपछि क्रिजमा आएका तिलक वर्मा र ओपनर शुभमन गीलले २८ रनको साझेदारी गर्दै भारतको पारि अघि बढाएका थिए। दोस्रो विकेटको रुपमा गील व्यक्तिगत २३ रन बनाएर आउट भए। उनले १२ बल फेस गर्दा ५ चौका प्रहार गरे।

त्यसपछि शिवम दुवे र वर्माले २९ बलमा ४४ रनको साझेदारी गर्दै भारतको स्कोर ७२ रन बनाए। तेस्रो विकेटको रुपमा वर्मा ८.४ ओभरमा २६ रन बनाएर आउट भएका थिए। उनले २२ बल फेस गर्दा १ छक्का र २ चौका प्रहार गरे।

दुवेलाई साथ दिन क्रिजमा आएका जितेश शर्माले गतिलो साथ दिए। यी दुईबीच ४५ रनको साझेदारी भएको थियो। शर्मा २० बलमा ५ चौकाको मद्दतले ३१ रनको पारि खेलेर आउट भएका थिए। शर्मा आउट भएपछि दुवेलाई साथ दिन आएका रिंकु सिंहले नटआउट पारि खेल्दै भारतलाई जित दिलाए।

दुवेले अर्धशतकीय पारि खेलेका थिए । दुवेले ४० बलमा नटआउट ६० रन बनाए। दुवेले २ छक्का र ५ चौका प्रहार गरे । यसैगरी सिंहल ९ बलमा नटआउट १६ रन बनाउँदा २ चौका पैहार गरे। अफगानिस्तानका मुजीव उर रहमानले २ विकेट लिँदा अज्मतुल्लाह ओमरजाइले १ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो। पहिले ब्याटिङ गर्न आएका अफगानिस्तानका ओपनरले सुस्त सुरुवात गरेका थिए। रहमानुल्लाह गुरबाज र कप्तान इब्राहिम जद्रानले ८ ओभरमा ५० रन जोडे तर अक्षर पटेलले गुरबाजलाई २३ रनमा आउट गरे भने शिवम दुबेले जाद्रानलाई २५ रनमा पभेलियन पठाए।

हमत शाह डेब्यु खेलमा मात्र ३ रन बनाउन सके र अक्षर पटेलको शिकार बने। चौथो विकेटका लागि मोहम्मद नाबी र अजमातुल्लाह ओमरजाईबीच ६८ रनको अर्धशतकीय साझेदारी गरेका थिए।

मोहम्मद नाबीले २७ बलमा २ चौका र ३ छक्का सहित ४२ रनको तुफानी पारि खेले। अर्कोतर्फ ओमरजाईले २ चौका र १ छक्का सहित २९ रनको उत्कृष्ट इनिङ खेले। अन्त्यमा अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले १९ रन र करिम जनातले ९ रन बनाए। भारतका लागि अक्षर पटेल र मुकेश कुमारले २–२ विकेट लिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?