जहाँ अनिष्ट भए रातभर बाघ कराउँछ
पुस २८, रामेछाप । जङ्गलको बिचमा सानो देवीको थान । पुरानै संरचना, कुनै नयाँ मन्दिर वा सजधज केही छैन, तर पनि मानिसहरूको आस्था र विश्वास त्यतिकै छ।
मन्थली नगरपालिका–१ को तिलेचौरस्थित सिद्धठाकुर तीनकन्या देवी स्थानीयको आस्था र विश्वासको धरोहर बनेर सदियौँदेखि हृदयमा सजिएर बसेकी छिन्। सरोकारवालाको ध्यान देवीस्थानको संरक्षण र प्रचारप्रसार पुगेको छैन्।
सदरमुकाम मन्थली नजिकै छ सिद्धठाकुर तीनकन्या देवीस्थान। मन्थलीको मच्छेडाँडीबाट पारी सुकाजोर खोलाको माथि पाखामा रहेको देवीस्थान मन्थलीबाट मर्निङवाक गर्न जोनको लागि पनि अति उपयुक्त मानिन्छ।
स्थानीय खड्गबहादुर खत्रीका अनुसार सो देवीस्थानको इतिहास कति पुरानो छ भन्ने कसैलाई थाहा छैन। पुस्तौँदेखि देवीस्थानमा पूजा गरिँदै आइएको छ, अहिलेका पुस्ताले पनि त्यसैलाई निरन्तरता दिँदै आएका छन्।
आफूहरू सानो हुँदा गोठधुप गर्दा वा धुप हाल्दा हजुरबा, बा, काकाबाहरुले तिलेचौर सिद्धठाकुर तीनकन्या देवीलाई पुकारेको सुन्ने गरेको स्थानीय दामोदर घिमिरे बताउँछन्। त्यसैले सो देवीस्थान निक्कै पुरानो शक्ति पीठको रूपमा रहेको उनले बताए।
खड्गबहादुर पनि सो देवीस्थानलाई स्थानीयले आफ्नो आस्थाको केन्द्रको रूपमा लिएको बताउँछन्। केही आपत पर्यो भने तीनकन्या देवीलाई स्थानीयले पुकार्ने उनी बताउँछन् । ‘देवीलाई पुकारेर मागेको कुरा पूरा हुन्छ भन्ने विश्वास छ’, उनले भने।
सो देवीस्थानमा स्थानीयले हरेक वर्ष सामूहिक रूपमा पाठी पूजा गर्छन्। देवीस्थानमा दर्शन गर्न जाने र परेवा पूजा गर्ने पनि बाक्लै हुन्छन्। तर त्यहाँ पूजा गरेको प्रसादी घर लैजानु हुँदैन भन्ने मान्यता रहेको छ। पूजाको प्रसादी त्यहीँ पकाएर खाई भाँडा माझेर मात्र घर लिएर जानुपर्छ भन्ने भनाइ छ। ‘विवाहित महिलाले देवीको प्रसादी खानु हुँदैन भन्ने मान्यता छ, पहिलादेखि चल्दै आएको अहिले पनि त्यही प्रचलन छ’, खत्रीले भने।
देवीस्थानको वरिपरी कसैले विघ्न गर्यो भने अहिले पनि रातभरि बाघ कराएर दुःख दिने खत्री बताउँछन्। देवीस्थान नजिकै घर भएका खत्रीले त्यसो भयो भने आगोमा धुप हालेर देवी पुकार्ने गरिएको बताए। त्यसो गरेपछि बाघ हिँड्ने उनले सुनाए। ‘हालैको दिन पनि त्यस्तै भयो, देवीस्थान माथि कसैले स्याउला काटेछ, साँझदेखि नै बाघ करायो, धुप हालेपछि बल्ल कराउन छाडेर हिँड्यो’, उनले भने।
देवीस्थानलाई सानो ढुङ्गाले दुई भागमा विभाजन गरिएको छ। एक भागमा तीन कन्याका तीनवटा सिला छन्। अर्को भागमा सिद्धठाकुरका शिला छन्। ‘देवीको शिलामा बली चलाइन्छ तर सिद्धठाकुरकोमा चल्दैन, पहिला देवीको पूजा गरेर त्यसपछि सिद्धठाकुरको पूजा गरिन्छ’, खत्रीले भने।
देवीस्थानको तल बारम्बार पहिरो गएर देवीस्थान भएको ठाउँ साँघुरो हुँदै गएको छ। स्थानीयले संरक्षणको लागि केही प्रयत्न गरेका भए पनि उनीहरूको प्रयत्नले मात्र पुगेको छैन। ‘देवीस्थानमा एउटा मन्दिर बनाउने कुरा चलिरहेको छ, तर बनाउन सकिएको छैन’, खत्रीले भने।