म्यानमारकी विदेशमन्त्री सुकी थाइल्यान्डमा, म्यान्माली शरणार्थी शिविरको भ्रमण रद्द


Prayuth Chan-ocha, Aung San Suu Kyiम्यानमारकी विदेशमन्त्री आङ सान सुकी आफ्नो औपचारिक भ्रमणका लागि बिहीबार थाइल्यान्ड पुग्नुभएको छ ।

उहाँ थाइल्यान्ड पुग्नुहुँदा उहाँलाई विशेष स्वागत गरिएको थियो । उहाँ यहाँ आइपुग्दा विभिन्न पेसा र व्यवसायका लागि थाइल्यान्डमा रहेका म्यानमारका नागरिकले पनि स्वागत गरेका थिए ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीको स्वागतका लागि विशेष सुरक्षाको पनि प्रबन्ध गरिएको बताइएको छ ।

उहाँको दलले गएको अप्रिल महिनामा सत्तारोहण गरेको थियो । त्यसपछि उहाँ राष्ट्रिय सल्लाहकार परिषद्को प्रमुखका रुपमा पनि रहनुभएको छ ।

विदेशमन्त्रीका रुपमा थाइल्यान्ड उहाँको पहिलो भ्रमण हो । उहाँले यहाँ रहँदा थाइल्यान्डको पश्चिमी क्षेत्रमा रहेको एक म्यान्माली शरणार्थी शिविरको भ्रमण गर्ने कार्यक्रम रहेकोमा त्यो भने रद्द भएको जनाइएको छ ।

उक्त शिविरमा म्यान्मारका करिब छ हजार शरणार्थी रहेका छन् । थाइल्यान्ड सरकारले उहाँको उक्त शिविरको भ्रमणको कार्यक्रम रद्द भएको जानकारी आज नै गराएको थियो ।

विदेशमन्त्री सुकीले आगामी शनिबार सो शिविरको भ्रमण गर्नुहुने कार्यक्रम रहेको थियो । तर उहाँले सो शिविरको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा भने केही बताउनुभएको छैन । रासस/एएफपी

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?