एपीएफले बागमतीलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य
पुस २९, काठमाडौं । सन्दीप जोराले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा शतक प्रहार गरेपछि विभागीय क्लब एपीएफले बागमती प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४१ रन बनाउँदा बागमतीले २४२ रनको लक्ष्य पाएको छ।
एपीएफका लागि प्रज्वल शाही र आशिफ शेखले ओपनिङ गरेका थिए। यी दुईका बीचमा जम्मा १८ रनको साझेदारी भएको थियो। ४.१ ओभरमा शाही १५ बलमा १० रन बनाएर आउट हुँदा २ चौका प्रहार गरे।
त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल २ रन बनाएर आउट भए। उनी आउट हुँदा एपीएफको स्कोर २३ रन भएको थियो। तेस्रो विकेटको रुपमा अर्का ओपनर आशिफ पनि व्यक्तिगत १५ रन बनाए आउट भएका थिए। उनले १९ बल खेल्दा २ चौका प्रहार गरे।
एपीएफले चौथो विकेट १२.२ ओभरमा जम्मा ४१ रन बनेका बेला गुमायो। सुमित महजृन १८ बल फेस गर्दा ६ रन जोडेर आउट भएका थिए। पुर्ण बम खाता नै नखोलेर आउट भएपछि पाँचौं विकेट पनि ४१ रनको स्कोरमा एपीएफले खेर फालेको थियो ।
एउटा साइडमा रहेका सन्दीप जोराले रन बनाउन लगातार प्रहार गरेका थिए। जोरा र लोकेश बम मिलेर एपीएफको स्कोर एकसय प्लस कटाए। १०७ रन भएका बेला बम ४२ बलमा २७ रनको पारि खेल्दै पभेलियन फर्किए। उनले १ छक्का प्रहार गरेका थिए। भुवन कार्की सातौं विकेटको रुपमा व्यक्तिगत १० रन बनाएर आउट भए । उनी आउट हुँदा एपीएफको स्कोर १२९ रन भएको थियो।
आठौं विकेटका लागि अमरसिंह रौटेला र जोराले गतिलो साझेदारी गर्दै टिमको स्कोर दुईसय नजिक पु¥याएका थिए। टिमको स्कोर १९७ रन भएका बेला रौटेल ४६ बलमा २२ रनको पारि खेल्दै पभेलियन फर्किए।
त्यसपछि क्रिजमा आएका अभिनाश बोहोराले १७ बलमा १८ रनको नटआउट पारि खेले। एपीएफले नवौं विकेटको रुपमा शतक बनाएका सन्दीप जोरालाई गुमाउन पुग्यो। उनी निर्धारित ओभरको २ बल बाँकी हुँदा ११२ रन बनाएर रनआउट भए। जोराले ११७ बल फेस गर्दा ५ छक्का र ७ चौका प्रहार गरे।
मौसम ढकाल १ रनमा नटआउट रहँदा एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४१ रन बनायो। बागमतीका सूर्य तामाङले ३ विकेट लिँदा प्रतिश जिसी र रिजन ढकालले दुई दुई विकेट लिए। यसैगरी सोनु देवकोटाको नाउँमा १ विकेट रह्यो।
सन्दीप जोरा प्रधानमन्त्री कपको जारी प्रतियोगितामा शतक प्रहार गर्ने दोस्रो खेलाडी भएका छन्। यसअघि शनिबार राशिद खानले शतक प्रहार गरेका थिए। बागमती पहिलो जितको खोजीमा छ भने एपीएफले पनि पहिलो खेलमै जितका साथ प्रतियोगिताको यात्रा सुरु गर्ने लक्ष्य लिएको छ।