प्रधानमन्त्री कपमा सुदूरपश्चिमको लगातार तेस्रो जित


माघ ४, भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालको छ। सिद्धार्थ रंगशाला भैरहवामा विहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो। गण्डकीको भने यो लगातार तेस्रो हार हो।

सुदूरपश्चिम प्रदेशले पहिला व्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो। जवाफमा गण्डकी प्रदेश ३०.२ ओभरमा सवै विकेट गुमाएर ९३ रनमा समेटिन पुग्यो। टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमको सुरुवात भने राम्रो रहेन।

सुदूरश्चिमले लगातार विकेट गुमाएका बेला सातौं नम्बरमा आएका किरण ढगुन्ना र नारायण जोशीले पारि सम्हालेका थिए । ठगुन्नाले ६० रनको अर्धशतकीय पारि खेल्दा जोशीले ४६ रनको महत्वपूर्ण पारि खेले।

यस्तै शेर मल्लले १९ रन बनाउँदा कप्तान राजु रिजालले १६ तथा टेक रावतले १५ रन बनाए। नरेन साउदले १३ रन जाडेपछि सुदूरपश्चिमको स्कोर २०० प्लस कटेको थियो। गण्डकीका विपीन खत्री र अंकित न्यौपानेले तीन तीन विकेट लिँदा कमल परियार र अमृत गुरुङले दुई दुई विकेट लिए।

२०२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको गण्डकी प्रदेशको सुरुआत पनि राम्रो रहेन। गण्डकीका लागि अश्विन रानाले सर्वाीधक २५ रन बनाउँदा कमल परियारले २२ रन जोडे । अरुले दोहोरो अंकमा रन बनाउन असफल हुँदा ४ खेलाडीले खाता पनि खेल्न सकेनन्।

गण्डकीलाई रोक्ने क्रममा शेर मल्लले सर्वाधिक ५ विकेट लिए । उनले ८.२ ओभरमा १ ओभर मेडन राख्दै २३ रन खर्चिएका थिए। यसैगरी गजेन्द्र बोहोराले २ विकेट लिँदा भोजराज भाट, नरेन साउद र मिलन बोहोराले एक एक विकेट लिए।

जितसँगै ३ खेलबाट ६ अंक बनाएको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?