बेलायतमा पुनः जनमत संग्रहको माग गर्दै २५ लाखको हस्ताक्षर संकलन


Belayatदुई दिनअघि जनमत संग्रहमार्फत् युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेको बेलायतमा लाखौं बेलायतीले यसबारे फेरि जनमत संग्रह गरिनुपर्ने मध्ये लबिङ थालेका छन् ।

बेलायत युरोपियन युनियनको सदस्य कायमै रहने नरहने विषयमा फेरि जनमतसंग्रह हुनुपर्ने माग गर्दै २५ लाख मानिसले हस्ताक्षर गरेका हुन् ।

फेरि जनमतसंग्रह हुनुपर्ने माग गर्ने अगुवाले कुल मतदातको ७५ प्रतिशतभन्दा कमले मात्र मतदान गरेको र त्यसको ५२ प्रतिशतले इयुबाट बाहिरिने पक्षमा मत दिए पनि यो वास्तविक बहुमत नभएको जिकीर गरेका हुन् ।

बेलायतमा यस्तो निवेदनमा केवल एक लाख मात्र समर्थन जुटेपनि संसदले मान्यता दिनुपर्ने र छलफल गर्नुपर्ने प्रावधान छ । गएको बिहीबार भएको जनमत संग्रहमा कुल मतदाताको ७२ दशमलव २ प्रतिशतले मतदानमा भाग लिएका थिए ।

लण्डन, स्कटल्याण्ड र नर्दन आयरल्याण्डवासीले इयुको सदस्य कायमै रहनु पर्ने पक्षमा मत दिएका थिए । प्रधानमन्त्री डेविड क्यामरुनले भने यसअघि नै दोस्रो पटक जनमतसंग्रह नहुने बताइसक्नु भएकाले लाखौं नागरिकको हस्ताक्षरबारे के निर्णय हुनेछ भन्ने निश्चित छैन ।

जनमत संग्रहमा पराजीत भइसकेपछि प्रधानमन्त्री क्यामरुनले आउँदो अक्टोबरमा प्रधानमन्त्री पद छोड्ने घोषणासमेत गरिसकेका छन् । यता, जर्मन चान्सलर एन्जेला मर्केलले भने ईयुबाट बाहिरिने बेलायती निर्णयकासम्बन्धमा वार्ता र संवादमा कुनै हतार गर्नुपर्ने अवस्था नरहेको बताएकी छिन् ।

जनमत संग्रहमार्फत् बेलायतले ईयुबाट बाहिरिने निर्णय लिएपछि ईयुका अरु देश र संस्थाका पदाधिकारीहरुले बेलायतलाई ढिलो नगरी तत्काल बाहिरिन भनेका सन्दर्भका मर्केलले यस्तो धारणा राखेकी हुन् । ईयुका विदेशमन्त्रीहरुको बैठकमा उनले बेलायतसँग सौहार्दपूर्ण वातावरणमा वार्ता हुने पनि प्रष्ट पारिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?