अफगानिस्तानमा अन्तर्राष्ट्रिय सम्मेलन
माघ १६, एजेन्सी । तालिबानले अफगानिस्तानको सत्ता सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन गरेको जनाइएको छ । उक्त सम्मेलनमा भारतसहित १० देशको सहभागिता रहेको थियो। सम्मेलनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय समर्थन र सहयोगको अपेक्षा रहेको छ।
‘क्षेत्रीय सहयोग पहल’ बैठक नाम दिइएको उक्त सम्मेलनलाई तालिवान शासनका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले सम्बोधन गरेका थिए। अफगानिस्तानका सञ्चारमाध्यमका अनुसार सहभागी देशहरूमा भारत, काजाकिस्तान, टर्की, रुस, चीन, इरान, पाकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, इन्डोनेसिया र किर्गिस्तान समावेश छन् । सम्मेलनमा अफगानिस्तानका लागि रुसका विशेष प्रतिनिधि जमीर काबुलोभले प्रतिनिधित्व गरेका थिए।
तालिवानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मुत्ताकीले अफगानिस्तानसँगको सकारात्मक संवादलाई बृद्धि गर्न र जारी राख्नका लागि यी देशहरूले क्षेत्रीय वार्ता गर्नुपर्नेमा जोड दिएका छन्।
आफ्नो मन्तव्यमा मुत्ताकीले क्षेत्रीय विकासका लागि अफगानिस्तानमा उदीयमान अवसरको फाइदा उठाउन र सम्भावित खतरा व्यवस्थापनमा समन्वय गर्न सहभागीहरुलाई आग्रह गर्दै उनले साझा लाभका आधारमा क्षेत्रीय सहयोगका लागि क्षेत्रकेन्द्रित मार्ग खोजीमा केन्द्रित हुनुपर्ने बताए। उनले अफगानिस्तानमाथिको एकतर्फी प्रतिबन्ध हटाउन क्षेत्रीय सहयोगको आह्वान गर्नुपर्ने बताए।