जतिनै विरोध गरेपनि गठबन्धन भत्किनेवाला छैन् : अध्यक्ष नेपाल


माघ १८, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको जति नै विरोध गरेपनि गठबन्धन नभत्किने बताएका छन्।

विहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जतिनै प्रयास गरेपनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताए।

उनले भने, ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन्, वान्ता नै भइरहेको छ। गठबन्धनको नाम सुन्ने वित्तिकै वाक्कदिक्क मान्छन्। तर उनीहरु जतिसुकै गठबन्धनको विरोधमा लागेपनि गठबन्धन भत्किनेवाला छैन्। पाँच वर्षसम्म गठबन्धन रहन्छ,’उनले अगाडि भने,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिम अनुसार सुशासन कायम गर्छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ। भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस भन्ने हाम्रो पनि चाहना छ।’

यस्तै उनले भाषण र वाचाभन्दा परिणाममूखी काम गर्न सरकारलाई आग्रह गरेको भन्दै यसको लागि गम्भीर भएर लाग्न आवश्यक रहेको बताए। उनले भने, ‘भाषण र वाचाभन्दा परिणाममूखी काम गर्नुपर्छ र त्यसको लागि सरकारलाई आग्रह पनि गरेका छौ। विगतका गल्तीलाई समिक्षा गर्नुपर्छ। कनिका छरेजसरी बजेट छर्ने। आवश्यक नभएको योजनामा लगानी गर्ने बानी छ, आफ्नो निर्वाचन क्षेत्र र बजेटबाहेक देशको बारेमा सोच्ने सोचको अभाव छ।’

मसानघाटबाट भूत जगाएजस्तै राजतन्त्रलाई फेरि ब्यूँताउन खोजिरहेको भन्दै यो व्यर्थको कसरत नगर्न आग्रह पनि गरेका छन्। उनले भने, ‘हराई सकेका शक्तिहरु, राजतन्त्रलाई फेरि ब्यूताउन खोजिरहेका छन्, मसानघाटबाट भूत जगाएजस्तै जगाउन खोजिरहेका छन्। तर उ जाग्नेवाला पनि छैन। केही गर्नेवाला पनि छैन्। जाग्न पनि दिदैँनौ, टिक्न पनि दिदैँनौ। त्यसकारणले व्यर्थको कसरत नगरौं।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?