यी पाँच जनाले पाउँदैछन् यस वर्षको ‘भारत रत्न’
माघ २७, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्रीहरू पीवी नरसिंह राव, चौधरी चरण सिंह र कृषि वैज्ञानिक एमएस स्वामीनाथनलाई भारतको सर्वोच्च नागरिक पुरस्कार ‘भारत रत्न’ प्रदान गर्ने घोषणा गरेका छन्।
सामान्यतया, एक वर्षमा तीन जनालाई दिइँदै आएको ‘भारत रत्न’ पुरस्कार यस वर्ष भने सरकारले पाँच जनालाई दिने भएको हो। भारत रत्न’ पुरस्कार पाउनेमा भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता लालकृष्ण आडवाणी र बिहारका पूर्वमुख्यमन्त्री कर्पुरी ठाकुर छन्।
पीवी नरसिंह राव
पालुमापति वेंकट नरसिंह राव जुन २१, सन् १९९१ देखि १६ मे सन् १९९६ सम्म भारतको प्रधानमन्त्री पद सम्हालेका थिए। उनको जन्म सन् १९२१ मा आन्ध्र प्रदेशको करिमनगरमा भएको थियो र उनले हैदराबादको उस्मानिया विश्वविद्यालय, बम्बे विश्वविद्यालय र नागपुर विश्वविद्यालयमा अध्ययन गरेका थिए। कृषिविद् र अधिवक्ता समेत रहेका रावले आन्ध्र प्रदेशको मुख्यमन्त्रीको रूपमा समेत पनि काम गरिसकेका छन्।
चरण सिंह
सन् १९०२ मा उत्तर प्रदेशको मेरठमा जन्मेका चरण सिंहले जुलाई २८, सन् १९७९ देखि १४ जनवरी, सन् १९८० सम्म प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। उनी पहिलो पटक सन् १९३७ मा छपरौलीबाट उत्तर प्रदेश विधान सभामा निर्वाचित भएका थिए। उनले सन् १९४६, १९५२, १९६२ र १९६७ मा निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरेका थिए। सिंहले दुई पटक उत्तर प्रदेशको मुख्यमन्त्रीको रूपमा पनि काम गरेर समाज सेवा गरेका थिए।
एमएस स्वामीनाथन
सन् १९२५ मा जन्मिएका एमएस स्वामीनाथनलाई भारतमा हरित क्रान्तिका पिता भनेर चिनिन्छ। उनले तिरुवनन्तपुरमको महाराजास कलेजबाट प्राणीशास्त्रमा बीएससी डिग्री र कोइम्बटूर कृषि कलेजबाट कृषि विज्ञानमा पनि डिग्री हासिल गरे।
उनले भारतीय कृषि अनुसन्धान संस्थानबाट कृषि विज्ञान (आनुवंशिकी र बिरुवा प्रजननमा विशेषज्ञता) मा एमएससी डिग्री र क्याम्ब्रिज विश्वविद्यालय, यूकेबाट पीएचडी डिग्री पनि प्राप्त गरेका छन्।
लालकृष्ण आडवाणी
भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता लालकृष्ण आडवाणी १९८६–९०, १९९३–९८ र २००२–०५ सम्म भारतीय जनता पार्टीको अध्यक्ष बनेका थिए। झण्डै तीन दशकको संसदीय करिअरको क्यापिङ गर्दै आडवाणी १९९९ देखि २००४ सम्म पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको मन्त्रिपरिषद्मा पहिले गृहमन्त्री र पछि उपप्रधानमन्त्री बनेका थिए।
कर्पुरी ठाकुर
सन् १९२४ मा बिहारको समस्तीपुर जिल्लामा जन्मेका कर्पुरी ठाकुरले दुई पटक राज्यको मुख्यमन्त्रीको रूपमा काम गरेका छन्। उनी मुख्यमन्त्री नितिश कुमार र आरजेडी अध्यक्ष लालुप्रसाद यादवलगायत राज्यका वर्तमान पुस्ताका धेरै नेताहरूको सल्लाहकार समेत रहेका थिए।
सन् १९५४ मा स्थापना गरिएको भारत रत्न पुरस्कार असाधारण सेवा वा मानव प्रयासको कुनै पनि क्षेत्र मा उच्चतम योगदान दिएका व्यक्तित्वहरुलाई प्रदान गरिदै आएको छ।
यस पुरस्कारका लागि प्रधानमन्त्री आफैंले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने गरेका छन्। भारत रत्न प्रदान गर्दा प्राप्तकर्ताले राष्ट्रपतिद्वारा हस्ताक्षरित सनद (प्रमाणपत्र) र एक पदक प्राप्त गर्ने गरेको छ।