एसीसी महिला प्रिमियर कपमा नेपाल ८ विकेटले विजयी


माघ २७, काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कपमा नेपालले हङकङ माथि ८ विकेटको जित निकालेको छ। शनिबार समूह चरणको पहिलो खेलमा नेपालले हङकङ माथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो।

हङकङले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बल खेल्दै ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान गरिन।

यस्तै ३८ बलको सामना गरेकी सिता राना मगरले १ चौका र १ छक्काको मद्दतमा ३६ रनमा अविजित रहिन्। दोस्रो विकेटका लागि इन्दु र सिता मिलेर ७६ रनको साझेदारी गरेका थिए। यो नेपालका लागि महिला अन्तराष्ट्रिय टि–२० मा तेस्रो सर्वाधिक साझेदारी पनि हो।

रुबिना छेत्री भने शुन्यमा नटआउट रहिन्। १२ बलको सामना गरेकी ओपनर कविता कुँवरल ४ रन बनाएर आउट भइन। हङकङका लागि इक्रा सहर र कप्तान चान का यिंग क्यारीले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ जोडेको थियो।
हङकङका लागि कप्तान चान का यिंग क्यारीले ३१ बल खेल्दै ३ चौका सहित सर्वाधिक २१ रन बनाइन्। यस्तै, मर्यम बिबीले १८ रन, यास्मिन दस्वानीले १५ रन ओपनर नताशा माइल्सले ११ रनको योगदान गरिन्। हङकङका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।

नेपालका लागि रुबिना क्षत्रीले र पुजा महतोले सर्वाधिक २–२ विकेट लिए। यस्तै सिता राना मगरले १ विकेट लिइन्। एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ। १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन्। यस्तै सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कप खेल्ने छन्। नेपाल रहेको समूह डी मा हङकङ बाहेक माल्दिभ्स र भुटान रहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?