सर्वोच्चले खारेज गरेको ‘जनयुद्ध दिवस’मा लिम्चुङबुङ गाउँपालिकाले बिदा दिने


माघ २९, विराटनगर । फागुन १ गते ‘जनयुद्ध दिवस’ का अवसरमा भन्दै उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले त्यस दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। यसअघि संघीय सरकारले उक्त दिन विदा दिने निर्णय गरेको थियो। विदा दिने सरकारको उक्त निर्णय विवादित बनेको थियो।

सर्वोच्च अदालतले विदा दिन सरकारले गरेको निर्णयलाई खारेज गरेको थियो।

लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले विज्ञप्ति जारी गर्दै फागुन १ गते गाउँपालिकामा सार्वजनिक विदा दिइएको जनाएका छन्। अध्यक्षस्तरीय निर्णय गर्दै विदा दिने निर्णय भएको जनाइएको छ।

संघीय सरकारले गत वर्ष उक्त दिन विदा दिने निर्णय गरेको थियो। पुस १३ गते सर्वोच्च अदालतका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त विदा असंवैधानिक भएको ठहर गरेको थियो।

यसैबीच, संघीय सरकारको गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै फागुन १ गतेका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ।

‘सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषदको मिति २०८०–१०–२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९–१२–०२) मा प्रकाशित २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सावजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?