पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमका लागि १० लाख दिने शिक्षासेवी प्रदिप ढकालको प्रतिबद्धता


Pathibharaअष्ट्रेलियाको सिड्नी निवासी प्रदिप ढकालले विराटनगरमा निर्माण गर्न लागिएको पाथिभरा जेष्ठ नागरिक श्रद्धाश्रमका लागि १० लाख सहयोग गर्नुहुने भएको छ । करिब दुई दशकभन्दा बढी समयदेखि अष्ट्रेलियामा रही शैक्षिक क्षेत्रमा क्रियाशील रहनुभएका ढकाल प्यासिभिक कलेज अफ टेक्नोलोजीका सञ्चालक समेत हुनुहुन्छ । सन् २००२ बाट सुरु भएको यो कलेजमा एकाउन्टिंग, विजनेश म्यानेजमेन्ट, ईन्फर्मेशन टेक्नोलोजी लगायतका विषयमा पढाई हुने गरेको छ । सामाजिक कार्यहरुमा अग्रपंक्तिमा देखिनुहुने ढकालले यसअघि पनि भूकम्प पीडितको सहयोगार्थ  १० हजार डलर प्रदान  गर्नुभएको थियो भने एनआरएन अष्ट्रेलियाले बनाएको सोसिएल वेलफेयर फन्डमा पनि १० हजार नै सहयोग गर्नुभएको थियो । स्थापित व्यवसायीको छवि बनाउनुभएका ढकालको प्यासिफिक कलेज नेप्लीज क्रिकेट एशोसिएसन अफ अष्ट्रेलियाले आयोजना गर्ने प्रतियोगितामा समेत प्रमुख प्रायोजकको रुपमा आर्थिक सहयोगी रहँदै आएको छ । pradip dhakalएमएनटीभीसँग कुरा गर्दै ढकालले भन्नुभयो, यो खासै न्यूज बनाउनुपर्ने विषय त होइन, तर पनि मैले एनआरएन अष्ट्रेलियाको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको हुँ । एनआरएन अष्ट्रेलियाको च्यारिटी परियोजना संयोजक रमेश पाण्डेले पनि ढकालको सहयोग उत्साहजनक भएको प्रतिक्रिया दिनुभयो । यसैगरी एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले आफुहरु यस परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि लागिपरेको बताउनुभएको छ । यसअघि, न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले १० लाख सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ भने विराटनगर घर भई हाल सिड्नी निवासी मुकेश रेग्मीले पनि ११ लाख सहयोग गर्नुभएको थियो । एनआरएन अष्ट्रेलियाले सन् २०१४ बाट थालेको यो परियोजनामा भूकम्प र नाकाबन्दीका कारण केही सुस्तता आएपनि अब छिटो सम्पन्न गर्नका लागि सहयोग पुर्याउन एनआरएनले अष्ट्रेलियाका विभिन्न राज्यहरुमा रहेका नेपालीहरुलाई आह्वान गरेको छ । यसै परियोजनाको सहयोगार्थ आईतबार ब्रिसबेनमा एनआरएन क्वीन्सल्याण्डको आयोजनामा भद्रगोलको टोलीले हाँस्यव्यंग्य प्रस्तुतिका साथै च्यारिटी डिनरको आयोजना गर्दैछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?