केपी ओली कप : एनआरटी र थ्री स्टार तथा आर्मी र पुलिस भिड्दै


फागुन १३, काठमाडौं । नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन्।

ललितपुरको एन्फा मैदानमा हुने पहिलो खेलमा एनआरटी र थ्रीस्टार क्लब आमने सामने हुने छन्। एनआरटी र थ्रीस्टारबीचको खेल बिहान साढे ११ बजेदेखि सुुरु हुने छ। यो खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्ने छ।

यसैगरी आजै हुने दोस्रो खेल विभागीय डर्वी हुने छ। जसमा त्रिभुवन आर्मी र नेपाल पुलिस आमने सामने हुने छन्। आर्मी र पुलिसबीचको खेल दिउँसो ३ बजेदेखि एन्फा मैदानमै खेलाइने छ। पुलिस र आर्मीको विजेताले सेमिफाइनल प्रवेशका लागि मच्छिन्द्र क्लबसँग खेल्ने छ।

शुक्रबार भएको उद्घाटन खेलमा आयोजक टोलीले ए डिभिजन लिग विजेता क्लब चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । अब सेमिफाइनल प्रवेशका लागि आयोजक टोलीले जावलाखेल युथ क्लबसँग खेल्ने छ।

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात वटा टिम सहभागी छन्।

ओली कपमा दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लब र आयोजक गरी कुल १० टिमबीच प्रतिस्पर्धा सुरु भएको छ। विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। फाइनल खेल फागुन १९ गते हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?