राजेन्द्र महतोले छाडे लोसपा, सुरु गरे नयाँ अभियान


फागुन १४, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन्।

सोमबार राष्ट्रिय सभा गृह काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको थालनी गरेका हुन्।

आजको अवस्थामा लोकतन्त्र, गणतन्त्र, विकास र समाजवादको बहस जनता झुक्याउने र ठग्ने प्रपञ्च सावित भएको भन्दै नेता महतोले वर्तमानको ठूलो अनिश्चितता र भ्रमलाई चिर्न सक्ने वैकल्पिक अभियानको थालनी गरेका दाबी गरे।

उनले भने, ‘अधिकार पहचिानको मान्यता राख्ने सबै एकजुट हुनुपर्दछ। सबै संघर्षमा आउनुपर्दछ र जुट्नुपर्छ भनेर हामीले आह्वान गरेका छौं। यो अभियानमा लोसपा र लोसपाका नेताहरु पनि सहमत भएर आउनुपर्दछ।’

विचार र एजेण्डा मिलेको अवस्थामा लोसपा पनि पार्टीमा जोडिन सक्ने महतोले उल्लेख गरे। वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’ अभियान तहत सबै एकताबद्ध भएर राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नरहेको भन्दै महतोले यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने दाबी गरे।

उनले अघि भने, ‘यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउनेछ र नेपाल सबै नेपालीका लागि निर्माण गर्नेछ। अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै छैन। तसर्थ विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन सोचको प्रभावलाई तिलाञ्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ।’

लोसपा अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्टी जनाउँदै महतोले गत मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?