अस्ट्रेलियाकै ठूलो बहु-सांस्कृतिक महोत्सवमा नेपाललाई बुद्ध र सगरमाथाको देशका रूपमा चिनाइयो 


फागुन १५, मेलबर्न, अस्ट्रेलिया । भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो सहर जिलोङमा सय देशका एक लाखभन्दा बढीको सहभागिता हुने अस्ट्रेलियाकै ठूलो बहु-सांस्कृतिक महोत्सव ‘पाको फेस्टा’मा नेपाली समुदायले नेपाललाई बुद्ध र सगरमाथाको देशको रूपमा चिनाएको छ।

सन् १९८३ बाट सुरू भएको बहु-सांस्कृतिक महोत्सव पाको महोत्सवमा ग्रेटर जिलोङ नेप्लिज कम्युनिटीले नेपाललाई बुद्ध र सगरमाथाको देश र बहुभाषिक–ब-हुसांस्कृतिक देशको रूपमा प्रस्तुति र प्रवर्द्धन गरेको हो। नेपालीको बसोबास अत्यन्तै न्यून रहे पनि एक लाखभन्दा बढीको जन सहभागिता हुने उक्त महोत्सवमा नेपालको कला र संस्कृति प्रवर्द्धनको गर्न भन्दै लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको पहलमा सन् २०१३ मा पहिलो पटक महोत्सवमा नेपाली सहभागी रहेको थियो। 

त्यसपछि निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ। पहिलो वर्षमा नै महोत्सवमा नेपाल झल्काउने पहिरन, नेपाली झन्डा, ब्यानरसहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रूपमा चिनाउने काम मात्रै भएन नेपाललाई कुमारीको देशको रूपमा समेत चिनाउने काम भएको थियो। 

विभिन्न समुदायका बीच गएर नेपालको परिचय दिने काम गरेको थियो। कार्यक्रममा मेहेक अधिकारीले ‘दिनदिनै भेट्नलाई आउँदिन्’ गीतमा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष डा सन्तोष पाण्डेले महोत्सवमा प्रत्यक्ष परोक्ष रूपमा सहयोग गरेर नेपाललाई महोत्सव मार्फत चिनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सहयोगका लागि आभार प्रकट गरे। 

कार्यक्रममा लुम्बिनी–कपिलवस्तु विश्व अभियानका संयोजक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका विश्व सल्लाहकार रामकुमार श्रेष्ठ, भिक्टोरियन बहु-सांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार ज्ञानेन्द्र उप्रेती, एनआरएनए भिक्टोरियाको नारी निकुन्जका बिना अधिकारी र रेनुका पाठक, दिदी–बहिनी समाज भिक्टोरियाका तर्फबाट राज श्रेष्ठ र वर्षा केसी राजभण्डारी लगायतको उपस्थिति थियो।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?