आयोजक फ्रान्स अन्तिम चारमा, आइसल्यान्ड ५–२ गोलले पराजित
आइसल्याण्डलाई हराउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा आइतबार राति भएको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टोली फ्रान्सले आइसल्याण्डलाई ५–२ ले हरायो ।
खेलमा फ्रान्सलाई विजयी गराउन ओलिभर जिरुले दुई गोल गरे भने दिमित्री पायट, एन्टोनियो ग्रेजम्यान र पउल पोग्बाले एक एक गोल गरे ।
पहिलो हाफमै ४–० ले पछि परेको आइसल्याण्डका कोल्बियन सिग्थोर्सन र बिर्कीर बेर्नासनले दोस्रो हाफमा एक–एक गोल फर्काए ।
जितसँगै फ्रान्सले सेमिफाइनलमा स्थान सुरक्षित गर्दा आईसल्याण्डको अप्रत्याशित यात्रामा पूर्णविराम लागेको छ ।
पहिलो पटक युरोकप फुटबलमा सहभागि आईसल्याण्डलाई यस पटक प्रतियोगिताकै अपत्यारिलो टोली मानिएको थियो ।
आइतबार रातिको खेलसँगै युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
बुधवार हुने पहिलो सेमिफाईनल खेलमा पोर्चुगल र वेल्स भिड्ने छन् । यसैगरी बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक फ्रान्सले जर्मनीसँग खेल्नेछ ।