सावित्राले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने पक्का


फागुन १६, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन्।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो। गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो।

साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन्। उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ। जसअनुसार साम्बाले फाइन खेल खेल्न नपाउने भएकी हुन्।

यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन। फाइनल भने फिफा विन्डो बाहिरको खेल हो। वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन्।

उक्त चार खेलमा उनको गोल संख्या नौ रहेको छ। साम्बा फ्रेन्च लिग खेल्ने साउदी अरेबियाबाट फ्रान्स जाने एन्फाले जनाएको छ। उक्त प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?