पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य जरुरी : सभापति देउवा
फागुन १८, काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन्। नारायणी नदी किनारमा शुक्रबार आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधानले पनि अर्थतन्त्रको विकासलाई तीनखम्बे नीति लिएको भन्दै पर्यटनको विकासको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
उनले भने,‘अहिले हाम्रो गठबन्धनको सरकार छ र यसले निरन्तरता पाउने छ । पर्यटन विकासको लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ। निजी क्षेत्रसँगको सहकार्यविना पर्यटनको विकास हुन सक्दैन। संविधानले पनि हाम्रो अर्थतन्त्रको विकासलाई तीनखम्बे नीति लिएको छ।’
भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वृद्धि गरी मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे। सभापति देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको भन्दै महानगरपालिकामा पर्यटकीय विकासका लागि पर्याप्त पूर्वाधार रहेको बताए।