प्रधानमन्त्रीले आज संसद्मा जवाफ दिने, त्यसअघि सत्ता गठबन्धन बैठक बस्दै


फागुन २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा उठेका सवालहरुमा आज जवाफ दिने कार्यसूची छ। त्यसअघि उनले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्रीको भूमिका र अन्य मन्त्रीहरुका कामकारबाहीका विषयमा सांसदहरुले पेचिला प्रश्नहरु उठाएका छन्।

सरकार र मन्त्रीहरुको कामबारे उठेका ती प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले यसअघिको बैठकमै रुलिङ गरेका थिए। त्यहीअनुसार प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिन लागेका हुन्।

त्यसअघि विहान ८ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । श्रोतका अनुसारबैठकमा विवादित मन्त्रीहरुलाई राजीनामा गराउने विषयमा प्रधानमन्त्री दाहालले प्रस्ताव ल्याउँदैछन्।

गठबन्धनमा मन्त्रीहरुको हेरफेर गर्ने दाहालको प्रस्ताव दुई महिनादेखि अरु नेताहरुले अस्वीकार गर्दै आएका थिए। तर राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र अन्य राजनीतिक घटनाक्रमले असमझदारी बढाउँदा वर्तमान गठबन्धनमै जोखिम पर्न सक्ने देखेपछि कांग्रेस सभापति शेरबहादुर देउवा लचिलो बनेका छन्।
प्रधानमन्त्री दाहालले आइतबार विहानदेखि देउवासहित गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत पटक–पटक भेटवार्ता गरेका थिए।

आजको गठबन्धन बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयनदेखिमन्त्री हेरफेर रसंक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ। एक मन्त्रीका अनुसार आजको गठबन्धन बैठकले टीआरसी विधेयकलाई संसद्बाट पास गरेर टुंगोमा पुर्याउने विषयमा निर्णय लिनेछ। ‘अहिलेसम्म सर्वसहमतिबाट विधेयकलाई टुंगोमा पुर्याउनेबारे छलफल भयो। तर अब सबैको सहमति पर्खिने वा बहुमतबाट गर्ने भन्ने विषयमा धेरै अलमल गर्नुहुदैन भन्ने निष्कर्षमा पुगेका छौँ,’ ती मन्त्रीको भनाइ छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?