क्रान्तिकारीहरूले शान्त बस्न मिल्दैन : विप्लव


फागुन २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजमा जनअपेक्षाअनुसारको व्यवस्था बहालीमा बाधा रहेकाले माओवादी क्रान्तिकारीहरू शान्त बस्न नमिल्ने बताएका छन्।

राजधानीमा सोमबार ‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रियामा उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने होड चलिरहेकाले चुप लागेर बस्न नमिल्ने बताएका हुन्।

उनले भने, ‘अहिले नायकहरु अपराधी र अपराधीहरु नायकजस्तो बन्न थालेका छन्। क्रान्तिमा हारेका मान्छेहरुले कुण्ठा बोक्ने विषय जनयुद्ध होइन। जनयुद्धको जगमा नै नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो। अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने होड छ। दलाल र पुँजीवादीहरुले त्यसलाई कब्जा गर्ने प्रयत्न गर्दैछ। माओवादीहरु, कम्युनिष्टहरु समाजवादीहरु जनताका लागि लडिरहेका छौं। कम्युनिष्टहरुको अन्तिम गन्तव्य लोकतान्त्रिक गणतन्त्र नेपाल मात्र होइन।’

जनताको अपेक्षाअनुसारको व्यवस्था बहालमा अझै बाधाहरु रहेकाले क्रान्तिकारी शक्ति चुप लागेर बस्न नकिल्ने तर्क उनले गरे। उनले भने, ‘क्रान्तिकारी, समाजवादीहरू, कम्युनिष्टहरुले नै देश परिवर्तन गर्नुपर्छ। यो लडाइँमा अहिले एउटा उथलपुथल चलिरहेको छ। कस्तो भने माओवादी भनेको शान्त बस्न नसक्ने शक्ति पनि हो। हेर्नुस् है आज यहाँ प्रचण्ड अध्यक्ष पनि आउनुभएको छ। मैले त पहिलेदेखि नै चलाउनुस् भन्ने सुझाव थियो। उथलपुथल पार्नुपर्छ। समाजमा जनतामा चिच्याइरहेका छन्। बेलामा माओवादी क्रान्तिकारीहरू शान्त बस्न मिल्दैन।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?