‘गली ब्वाय’को कथाप्रति र्यापर नेजीको आपत्ति


फागुन २४, मुम्बई । बलिउड निर्देशक जोया अख्तरको निर्देशन र रणवीर सिंह तथा आलिया भट्टका अभिनय रहेको फिल्म ‘गली ब्वाय’लाई सफल फिल्म मानिन्छ। फिल्मले बक्सअफिसमा कैयौं रेकर्ड बनाएको छ। यसबाहेक फिल्मले अवार्ड पनि उत्तिकै पोल्टामा पारेको छ।

यो फिल्मलाई ‘ओस्कार अवार्ड’का लागि ‘बेस्ट इन्टरनेशनल फिचर फिल्म’ विधामा मनोनयनका लागि समेत पठाइएको थियो। फिल्मको कथा एक र्यापरको संघर्ष वरपर घुम्छ। फिल्ममा रणवीर सिंहले वास्तविक र्यापर नेजीको भूमिकामा अभिनय गरेका छन्। उनले र्यापमार्फत आफ्नो जीवनमा परिवर्तन ल्याएको कथा फिल्ममा देखाइएको छ।

वास्तविक नाम नावेद शेख रहेका र्यापरले हालैमात्र भीएच१ सुपरसोनिक म्युजिक फेस्टिभलमा आफ्नो प्रस्तुति दिएका थिए। यही समयमा उनले फिल्म ‘गली ब्वाइ’मा आफ्नो जीवनलाई लिएर केही गलत कुरा देखाइएको गुनासो गरेका थिए। उनले दर्शकले त्यो गलत कुराको विश्वास नगर्न र आफू चाँडै नै सत्य कथाका साथ दर्शकमाझ आउने जानकारी दिएका छन्।

‘गली ब्वाईमा मेरो आमाबाबु भनेर जसलाई देखाइएको थियो, त्यो चरित्रमा फिक्सनाइज गरिएको थियो। फिल्ममा जुन मेरो कथा भनिएको छ, त्यो गलत कथा हो। जस्तो कि मेरो पिताको दुई विवाह हुन्छ, गली ब्वाई दुई सम्बन्धमा बस्छन्। फिल्ममा देखाइएको यी कुरा वास्तविक होइनन्। मेरो आमाबाबु एकमात्र हुनुहुन्छ। मैले कहिल्यै पनि दुईवटा सम्बन्ध बनाइनँ। फिल्ममा आइप्याडमा गीत बनाइएको देखाइएको छ। मुसलमान परिवारमा यो सबै सत्य हुन्। बाँकी सबै गलत हुन्। सबै कुरालाई फिक्सनाइज गरिएको छ। म दर्शकलाई यही भन्न चाहन्छु कि त्यसमा विश्वास नगर्नुहोला। म सत्य कथाका साथ आउनेछु र दर्शकलाई वास्तविक कथा के थियो भन्ने बताउनेछु,’ उनले भनेका छन्।

उनले ‘गली ब्वाई’ले आफ्नो जीवनमा सकारात्मक र नकारात्मक दुवै परिवर्तन ल्याएको बताएका छन्। ‘मनोवैज्ञानिक रुपमा मलाई धेरै नोक्सान भयो, किनकी मेरो व्यक्तिगत कथालाई गलत देखाइयो। तर, हो व्यापारिक कुरामा मलाई बढी फाइदा भयो। त्यसको माध्यमबाट मैले पहिचान पाएँ। यद्यपि मलाई कुनै पहिचानको आवश्यकता थिएन र मलाई बलिउडको मोह पनि थिएन । हरेक मिडियामा मेरो नाम आयो। कैयौं मानिसले म ठूलो कलाकार हो भन्ने थाहा पाए। जोया अख्तरले धेरै दिमाग खेलाएकी छन्। कतिपयले करिअरको सुरुवातमै तिमीमाथि फिल्म बन्नु कति राम्रो कुरा भन्दै बधाई दिए। मानिसहरुले दिएको सम्मान मात्र मैले लिएँ, अपमान लिइनँ,’ उनले भनेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?