आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा


फागुन २७, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा खेलमा ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरको जित निकाल्दै आर्सनल लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।

आर्सनलको २८ खेलबाट ६४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको लिभरपुलको २७ खेलबाट ६३ अंक रहेको छ। आज लिभरपुलले म्यानचेस्टर सिटीसँग खेल्दै छ। यो खेलमा लिभरपुल विजयी भए पुनः शीर्ष स्थानमा फर्कने छ भने बराबरीले अंक बराबरी भए पनि दोस्रै स्थानमा रहने छ।

शनिबार राति ब्रेन्टफोर्डमाथि २–१ को जित निकाल्दा डेकलन राइस र काभई हार्भेट्जले एक एक गोल गरेका थिए । ब्रेन्टफोर्डका लागि योआन विस्साले एक गोल फर्काए।

१९ औं मिनेटमा बेन ह्वाइटको पासमा राइसले हेडर गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। पहिलो हाफको इन्ज्यूरी टाइममा आर्सनलका गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न नसकेको बलमा विस्सालाई लागेर गोल भएपछि खेल एक एकको बराबरीमा आएको थियो। ८६ औं मिनेटमा ह्वाइटको पासमा हार्भेट्जले गोल गरेपछि अन्ततः आर्सनल २–१ को नतिजाका साथ शीर्ष स्थानमा पनि उक्लन सफल भयो।

प्रिमिरय लिग अन्तर्गत वुल्भ्सले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै, म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि २–० को सहज जित निकाल्दा बर्नमाउथ र सेफिल्ड युनाइटेडले २–२ गोलेको बराबरी खेलेका छन्। यस्तै क्रिष्टल प्यालेस र लुटन टाउनले पनि एक एक गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका छन्।

प्रिमियर लिग अन्तर्गत आज ४ वटा खेल हुँदै छन्। नेपाली समय अनुसार पौने ७ बजे एस्टन भिल्ला र टोटनह्याम भिड्दा पौने ८ बजे ब्राइटन र नटिङघम फरेस्ट र वेस्टह्याम तथा बर्नले आपसमा भिड्ने छन्। यस्तै, राति साढे ९ बजे लिभरपुल र म्यानचेस्टर सिटीको खेल हुने छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?