राष्ट्रिय सभा बस्दै, बैठकले अध्यक्षको निर्वाचन समय र स्थान तोक्ने
फागुन २७, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने छ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बोलाइएको छ।
आइतबारको बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने पहिलो कार्यसूची छ। यस्तै, बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिने संघीय संसद सचिवालयले जनाएको छ।
अध्यक्षले विषयगत समितिमा रहेका सदस्यहरुको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ। तर, सभाका अध्यक्षको पद रित्त रहेकाले उत्त कार्य उपाध्यक्ष उर्मिला अर्यालले गर्नेछिन्।
यसअघि माघ २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक फागुन २९ गते अध्यक्षको चुनाव गर्ने र त्यसका लागि फागुन २७ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय तोक्ने कार्यसूची बनाएको थियो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिएको छ। राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भई नयाँ सदस्य चयन भएर आइसकेका छन्।
अध्यक्ष पदका लागि नेकपा माओवादी र उपाध्यक्ष नेकपा एमालेले लिने गरी राजनीतिक सहमति भैसकेको छ। माओवादीले अध्यक्षको नाम आजै टुंग्याउने तयारी गरेको छ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ।