पोर्चुगल युरोकप फुटबलको फाइनलमा, वेल्स २–० ले पराजित


Euro_Cupवेल्सलाई पराजित गर्दै पोर्चुगल युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सको लियोंमा बुधबार राति भएको सेमिफाइनलमा क्रिश्चियानो रोनाल्डोको प्रदर्शन प्रेरित पोर्चुगलले वेल्सलाई २–० ले हरायो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै पोर्चुगलका रोनाल्डो र नानीले एक एक गोल गर्दै जीत सुनिश्चित गरे । यो जितसँगै पोर्चुगल १२ वर्षपछि युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघि सन् २००४ मा आफ्नै देशमा भएको युरोकपको फाइनलमा पुगेको पोर्चुगल त्यतिबेला सरप्राईज टोली ग्रिससँग पराजित भएको थियो । उता बुधबार रातिको हारसँगै वेल्सको भने युरोकप यात्रामा पूर्णविराम लागेको छ । इतिहासमै पहिलो पटक सेमिफाइनलसम्म पुगेको वेल्सले बुधबार राति भने सोचे अनुरुपको प्रदर्शन गर्न सकेन ।

युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार राति दुई बलिया प्रतिस्पर्धी जर्मनी र फ्रान्स भिड्दैछन् । विश्वकप विजेता जर्मनीले क्वाटरफाइनलमा ईटालीलाई टाईब्रेकरमा हराएको थियो भने आयोजक फ्रान्सले आईसल्याण्डलाई ५–२ ले पाखा लगाएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?