चीनका नोबेल विजेता मो यानविरुद्ध मुद्दा


चैत ३, एजेन्सी । चीनका नोबेल पुरस्कार विजेता साहित्यकार मो यानविरुद्ध मुद्दा दर्ता भएको छ। मुद्दा चीनका राष्ट्रवादी ब्लगर मानिने वु वानझेङले दायर गरेका हुन्। मो यानले आफ्नो पुस्तकमा चिनियाँ सेनाको आलोचना गरेको र जापानका सैनिकहरूलाई गौरवशाली रुपमा देखाएको वुले आरोप लगाए। मो यानको यो काल्पनिक पुस्तक जापानले चीनमाथि गरेको आक्रमणको समयमा आधारित छ।

वु वानझेङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् र राष्ट्रवादी मुद्दाहरूमा आफ्ना विचारहरू सार्वजनिक गर्दै आएका छन्। वानझेङले मुद्दामा मो यानसँग १.५ अर्ब युआन क्षतिपूर्ति माग गरेका छन्। प्रत्येक चिनियाँ नागरिकलाई एक युआनको आधारमा क्षतिपूर्ति माग गरिएको छ।

वु वानझेङले कथित विवादास्पद पुस्तकको बिक्रीमा प्रतिबन्ध लगाउन पनि माग गरेका छन्। यद्यपि चीनको कुनैपनि अदालतले वु वानझेङको मुद्दालाई अहिलेसम्म स्वीकार गरेको छैन। यानलाई सन् २०१२ मा साहित्यको नोबेल पुरस्कार प्रदान गरिएको थियो। यान उनको उपन्यास रेड सोघमका लागि परिचित छन्। उपन्यास दोस्रो चीन–जापान युद्धमा आधारित छ।

उपन्यासले एउटै परिवारका तीन पुस्ताको कथा बताउँछ। मो यानले वुन वानझेङले दायर गरेको मुद्दामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यस विषयमा चिनियाँ सामाजिक सञ्जालमा राष्ट्रवादको विषयमा बहस भइरहेको छ।

कतिपय प्रयोगकर्ताहरूले वु वानझेङलाई समर्थन गरेका छन् भने धेरै प्रयोगकर्ताहरूले यानको पक्ष लिएका छन् र वु वानझेङले प्रख्यात हुनका लागि यस्तो गरेको आरोप लगाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?