माओवादी केन्द्रका नेता र तिनका छोराहरू
चैत ७, काठमाडौँ । आज अपराधको क्षेत्रमा देश र जनताको दूरगामी अहित र विश्वव्यापी बदनाम हुनेखालको त्यस्तो कुनै अपराध छैन, जहाँ माओवादी केन्द्रका नेता र तिनका छोराहरू मुछिएका नहुन् । जनस्तरमा जनयुद्धको रापताप सेलाउँदै जान थालेपछि माओवादी नेताहरूमाथि चौतर्फी हमला बढेको साँचो हो । तर विडम्बना, वस्तुको प्रादूर्भाव वा सर्वनाश उसको आन्तरिक गुणदोषको कारणले हुन्छ भनिएझैँ आफ्नै नालायकी र तुच्छताले हरेक ठूला अपराधको निष्पक्ष छानबिन गरिँदा माओवादी केन्द्रका पहुँचवाला नेता र तिनका छोराहरू उम्किनसक्ने कुनै सम्भावना देखिँदैन ।
हुन त आजको दलाल पुँजीवादी संसदीय व्यवस्था आफैँमा कुख्यात अपराधी हो । यो व्यवस्थाको आधार नै दलाली, तस्करी, भ्रष्टाचार र खुराफत प्रतीत हुन्छ । यो व्यवस्थाका राजनीतिक दल र तिनका प्रायः नेताहरू कुनै न कुनै अपराधमा संलग्न थिए र अहिले पनि छन् । सामान्यतया दलाल पुँजीवादी व्यवस्थालाई मान्दा राजनीतिक दल र तिनका नेताहरूको अपराध स्वभाविक जस्तो हुन आउँछ । तर जब माओवादी केन्द्र र तिनका नेताहरूको कुरा आउँछ, तब प्रशङ्ग केही फरक बन्छ ।
माओवादी नेता र तिनका छोराहरूलाई देशको राजनीति र प्रशासनमा हस्तक्षेप गर्नसक्ने हैसियत जनयुद्धले बनाइदिएको हो । जनयुद्ध आफैँमा दसौं हजार सहिदको जीवन तथा करोडौं जनताको आँसु, रगत र पसिनाको बलिदान थियो । देश र जनताको सर्वव्यापी हितका लागि निशंकोच उक्त बलिदान भयो । यति ठूलो बलिदानमा ठडिएका मान्छेहरूले देश र जनताको हितमा सिन्को भाँच्ने प्रयत्न नै भएपनि गर्नुपर्थ्यो । तर विडम्बना, प्रायः माओवादी नेता र तिनका छोराहरू पहुँचमा पुगेर सुन तस्करीमा लागे, मानव बेचबिखन, भ्रष्टाचार, दलाली र चरम सुविधा भोगमा फसे । कतिसम्म भने कञ्चनपुरकी नाबालिक निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा समेत मान्छेहरूले माओवादी नेताका छोरामाथि नै शंका गर्ने स्थिति बन्यो ।
तर माओवादी त देशका सबैखाले अपराधविरुद्ध इतिहासकै ठूलो जनताको संघर्ष जनयुद्ध लडेको पार्टी हो । देशबाट सारा अपराध निर्मूल पार्ने सपना माओवादीले देखेको थियो । अपराधको मूल राजतन्त्र र दलाल पुँजीवादी संसदीय व्यवस्थाको ठाउँमा जनवादी गणतन्त्र स्थापना गर्ने माओवादी उद्देश्य थियो । उसको त्यही सपना र उद्देश्यका खातिर दसौं हजारले जीवन दिए । करोडौंले खुनपसिना र आँसु बगाए । सारा देशले वीरतामय संघर्ष गर्यो । इमानदार नेता, कार्यकर्ता र जनसमुदायको त्यही संघर्ष, त्याग र बलिदानबाट कैयौं नेताहरूले राज्यसत्ता संचालनको हैसियत बटुले । यसरी जनयुद्धको रापतापले ठाउँमा पुगेपछि देश र जनताको हितमा सक्दो सुधारको काम गरिनुपर्ने थियो तर उनीहरूले त्यो सारा ऊर्जालाई देश र जनताको दूरगामी अहित र विश्वव्यापी बदनाम हुनेखालका अपराधमा लगाइदिए ।
अझै पनि सकिनेजति राज्यशक्तिको दुरुपयोग गरेर उनीहरू आफ्नो अपराध ढाकछोप गर्ने कोसिसमा छन् । त्यो पनि भविष्यमा राम्रो गर्नका लागि होइन, बरु त्यही कुकर्म दोहोर्याउनका लागि प्रतीत हुन्छ । किनभने समाजवादी मोर्चा मार्फत जनयुद्धका अधुरा सपना पूरा गर्ने सानो प्रयत्नलाई उनीहरूले रुचाएको देखिन्न । छुट्टाछुट्टै प्रयत्नहरूले एक ठाउँमा पुगिसकेपछि नयाँ तरिकाले चल्नुपर्ने बेला मोर्चाबन्दी या रुपान्तरण सहितको एकताको विकल्प छैन भन्ने जो पनि जान्दछ । तर माओवादी केन्द्रका केही नेताहरू मोर्चाबन्दी या एकता जस्तो केही नयाँ स्थितिले आफ्नो रजगज खलबलिने भयले त्रस्त देखिन्छन् ।
तर यो अराजक स्थिति लामो समय जाने छैन । अहिले हरकोही गर या मरको अवस्थामा छ । कुरो, जनताको चाहना र आवश्यकता अनुरुप चल्ने कि यही स्थितिलाई निरन्तरता दिएर सिद्धिँदै जाने भन्ने मात्र हो । विगतमा जस्तो जनतातिर फर्किने हो भने अझै पनि देशमा माओवादी आन्दोलनको विकल्प छैन । होइन, यसरी नै तस्कर, दलाल र भ्रष्टसँगको साँठगाँठमा रहिरहे अपराधीहरूले ढिलोचाँडो दण्डित हुनु नै पर्छ ।
जनहितमाथिको खेलबाड इतिहासले सहदैन । जनताका महान सारथी लेनिन र माओलाई विश्व समाजवादको नेता बनाउने जनता थिए । अनि जनताको हित विपरीत चल्दा बेलायती राजा लुई सोह्रौं र इटालीका तानाशाह बेनिटो मुसोलोनीलाई सडकमा ल्याएर काट्ने पनि जनता नै थिए । जनताबाट कटेर अझ जनताको हित विपरीतका अपराध गरेर टिक्ने सपना कसैले देख्नुहुँदैन । जनताको चाहना र आवश्यकता विपरीत सोच्ने र चल्ने जोसुकैको सर्वनाश अनिवार्य छ । यही देशमा पनि राणा शासन, पञ्च र राजाहरूको पतन त्यसको सजीव उदाहरण हो ।
–कपिल सी
यो लेख अखिल (समाजवादी) को मुखपत्र ‘कम्युनिस्ट विद्यार्थी’ बाट साभार गरिएको हो।