विश्वकप छनोट : चीनले २ गोलको अग्रता जोगाउन सकेन
चैत ८, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत समूह ‘सी’का दुवै खेल बराबरीमा टुंगिएका छन्। दक्षिण कोरिया र थाइल्याण्डले एक–एक गोलको बराबरी खेल्दा अर्को खेलमा सिंगापुर र चीनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
थाइल्याण्डविरुद्ध दक्षिण कोरियाले सन ह्युङ मिनले जे सियोङ लीको पासमा ४२ औं मिनेटमा भएको गोलले अग्रता लिएको थियो। तर, थाइल्याण्डले दोस्रो हाफमा बराबरी गरेको थियो। ६१ औं मिनेटमा सुफानत मुएनटाले लुक मिकेलसनको पासमा गोल गर्दै एक एक गोलको बराबरीमा ल्याए। त्यसपछि थप गोल नभएपछि दुवै टिमले एक एक अंक लिए।
यस्तै, अर्को खेलमा सिंगापुर र चीनले २–२ गोलको बराबरी खेले। चीनले २ गोलको अग्रता जोगाउन असफल भएको थियो । १० औं मिनेटमा लि वुइले गोल गर्दै चीनलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा चीनका उनी लीले व्यक्तिगत दोस्रो गोल गर्दा अग्रता पनि दोब्बर भएको थियो।
तर, सिंगापुरले आफूलाई दोस्रो हाफको उत्कृष्ट सावित गर्न सफल भयो। ५३ औं मिनेटमा फेरिस रामलीले गोल गर्दै अग्रता २–१ मा झारेका थिए। ८१ औं मिनेटमा ज्याकोब मेहलरले गोल गरेपछि सिंगापुरले खेल २–२ को बराबरीमा ल्याएको थियो। त्यसपछि थप गोलव नभएपछि दुवै टिमले एक एक अंकमा चित्त बुझाए।
समूह सीमा दक्षिण कोरिया ३ खेलबाट ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। यसैगरी थाइल्याण्ड तीन खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा रहँदा समान ४ अंक रहेको चीन तेस्रो स्थानमा छ। सिंगापुर भने एक अंकका साथ तालिकाको पुछारमा छ।