अमेरिकामा प्रदर्शनकारीले गरेको आक्रमणमा पाँच प्रहरीको मृत्यु
अमेरिकाका दुई फरक राज्य मिनेसेटा र लुजियानामा दुई जना अश्वेत नागरिकलाई प्रहरीले हत्या गरेपछि भड्किएको हिंसाका कारण यहाँका विभिन्न सहरमा प्रदर्शनका क्रममा तैनाथ प्रहरी अधिकारीमाथि बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा पाँच जना प्रहरीको मृत्यु भएको छ ।
घटनामा सात जना सुरक्षाकर्मी र अन्य दुई नागरिक घाइते भएका नगरप्रमुख माइक रलिङ्सले अमेरिकी सञ्चारमाध्यमलाई बताउनुभएको छ । घाइतेमध्ये केही प्रहरीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
नगरप्रमुख रलिङ्सले घटनामा संलग्न भएको बताइएका एक आक्रमणकारीको पार्किङस्थल नजिकै मृत्यु भएको बताउनुभयो । यसैगरी प्रहरीलाई नसगाएको आरोपमा एक महिलासहित तीन जनालाई प्रहरी हिरासतमा लिइएको छ ।
यसैबीच डालस आक्रमणमा टेक्सास निवासी २५ वर्षीय मिका जोनसन रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ ।
स्थानीय समाचार संस्था सीबीएस न्युज तथा एनबीसी न्युजले पछिल्लो समय जोनसन डालसको बाहिरी भूभागमा अवस्थित मेक्सिटमा बस्दै आएको बताएका छन् । उनी झडपमा मारिएका थिए ।
यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले ट्वीट गर्दै यस घटनालाई क्रुर, सुनियोजित एवम् घृणित भन्दै घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याइने बताउनुभयो ।
नेटो सम्मेलनका लागि पोल्यान्ड पुगेका राष्ट्रपति ओबामाले घटनाप्रति सबै अमेरिकी नागरिक चिन्तित हुनुपर्ने बताउनुभएको छ ।