सुहाङले सम्झाए राजनीतिमा बंशवाद र नातागोता
चैत १३, काठमाडौं । इलाम २ को उपनिर्वाचनको उम्मेदवार चयनमा एमालेले आइतबार एउटा ‘बोल्ड’ निर्णय गर्यो। एमालेले आफ्ना दिवंगत नेता सुवास नेम्वाङका कान्छा सुपुत्र सुहाङलाई त्यस क्षेत्रका लागि आधिकारिक उम्मेदवार बनायो।
सुहाङ जस्तै त्यो क्षेत्रमा उम्मेदवार हुन आकांक्षा राख्ने जिल्ला उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डा देवीक्षेत्री दुलाल, इलाम–२ क्षेत्रीय संयोजक बुद्धिप्रसाद खनाल, नेता नरेन्द्रनाथ भट्टराई र कोशी प्रदेश सदस्य रिपल राई सुहाङलाई बधाई दिने पात्र मात्र बने।
सुहाङ उम्मेदवार बनेपछि साहित्यकार एवम् समालोचक खगेन्द्र संग्रौलाले ट्वीट गर्दै लेखे,‘पितृशोकमा रहेका सुहाङ नेम्बाङप्रति मेरो सहानुभूति र समभाव छ। तर दिवंगत बाबुका छोराका नाताले आँशुका भोट बटुल्न सामन्ती बंशवादकै हुबहु नक्कल भएन र ? राजतन्त्र फाल्दा हामी बंशवादको विरोधमा थियौं, होइन र ?’
संग्रौलाको टिप्पणीले नेपाली राजनीतिको परम्परा जस्तै बन्दै आएको प्रवृत्तिप्रति प्रश्न खडा गरिदिएको छ। सुहाङलाई उम्मेदवार बनाएको निर्णय हेर्दा सामान्य लागेपनि राजनीतिमा ठूलो नैतिक प्रश्न बनेको भनेर टिकाटिप्पणी सुरु भएको छ । नेपाली राजनीतिमा २०४६ सालपछि यस्तै श्रृंखला दोहोरिँदै आएको छ।
गाउँमा बसेर संगठन बनाउन, निर्वाचनको समयमा रातदिन खटेर मत माग्न, मतको सुरक्षा गर्नेदेखि प्रतिद्वन्द्वी शक्तिसँग भिड्ने नेताकार्यकर्ताहरु नै हुन्छन्। तर, जब नेताले अवसर वितरण गर्ने समय आउँछ, अनि उनको मुख्य ध्यानचाहिँ आफन्तको जीवन सुरक्षाका पक्षमा जाने गरेको प्रशस्त दृष्टान्तहरु पाउन सकिन्छ। नाता, त्यसमाथि आफ्नो परिवारकै सदस्य, निकटको आफन्त र विश्वास प्राप्त व्यक्तितिर निर्णय तहमा रहेका नेताको नजर जानुलाई गम्भीर नैतिक प्रश्नको रुपमा हेरिएको छ।
देशको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि सत्ताको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डसम्मका नेताहरुको सोच र शैली बंशवादमा केन्द्रित देखिन्छ। पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालादेखि एमाले महासचिब मदन भण्डारीसम्मलाई हेर्ने हो भने नाताबाद र बंशवाद भन्दा माथि उठ्न नसकेको प्रशस्त उदाहरणहरु देख्न पाइन्छ। नेपालका कांग्रेस–कम्युनिष्ट पार्टी र तिनका नेताहरुको फेहरिस्त केलाउने हो भने नातावादले नराम्रोसँग जेलिएको पाउन सकिन्छ। हाल सुहाङका पक्षमा आएको एमालेको निर्णय तत्कालीन नेता रवीन्द्र अधिकारीको निधन हुँदापनि श्रीमती विद्या भट्टराईको भाग्य उसैगरी चम्किएको थियो।
कास्की क्षेत्र नम्बर २ बाट एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएर संघीय संसदमा प्रवेश गराउन सफल भयो। तत्कालीन पर्यटन मन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा विद्यालाई अघि सारिएको थियो। एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको मुस्ताङमा कांग्रेसले पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा योगेशलाई २०७९ को निर्वाचनमा उम्मेदवार मात्र बनाएर संघीय सदनमै प्रवेश गरायो। अस्वस्थ्य शरीरका कारण राजनीतिमा विश्रामकै अवस्थामा पुगेका रोमीले छोरालाई राजनीतिमा स्थापित गराएरै छाडे।
राजनीतिमा नातागोता र बंशवादको श्रृंखला लामो छ। स्थानीय तह, प्रदेश तह सबैतिर नातागोताको जगजगी छ। जसका कारण संगठनका सिपाहीहरु अवसरबाट बञ्चित हुने गरेका छन्।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी स्वर्गीय नेता मदन भण्डारीको श्रीमती हुन् भन्ने कुरा सबै नेपालीलाई जानकारी छ। राजनीतिमा सामान्य सक्रिय मात्र रहेकी उनले मदनकै श्रीमती भएका कारण राजनीतिक उचाइ लिइन्। त्यतिमात्र होइन कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग उनको दाजु–बहिनीको साइनो नै छ। राष्ट्रपति भण्डारी पूर्व राष्ट्रपति रामवरण यादवको भतिजी किरणकी सम्धिनी पनि हुन्। पूर्व राष्ट्रपति यादवका छोरा डा।चन्द्रमोहन पनि कांग्रेसका नेता नै हुन्। परिवारका व्यक्तिहरु राजनीतिमा भएका कारण विद्यालाई उत्प्रेरित गरेको बुझ्न सकिन्छ।
नेपाली राजनीतिमा कोइराला परिवारको प्रभाव सबैभन्दा बढी देखिन्छ। सिन्धुलीको दुम्जा थातथलो भएका कोइराला परिवार विराटनगर बसाइसराइ भएपछि राजनीतिमा सक्रियता मात्र बढाएनन् कांग्रेसको राजनीतिमा ठूलो प्रभाव नै जमाए। मुलुकका तीन प्रधानमन्त्री जन्माउने कृष्ण प्रसादका जेठा छोरा मातृकाप्रसाद हुन्। उनी नेपालको प्रधानमन्त्री, नेपाली राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसको सभापति भए । प्रधानमन्त्री भएर पनि राजदूत हुने उनी पहिलो व्यक्ति हुन्।
उनकै छोरा कमल कोइराला कम्युनिष्ट नेता भएर काम गरेका थिए भने उनी पनि राजदूत भएर दक्षिण कोरियामा बसेका थिए। कृष्ण प्रसादका माइला छोरा विश्वेश्वर प्रसाद९बीपी०नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री नै भए। बीपीका कान्छा पुत्र डा। शशांक कोइराला कांग्रेस केन्द्रीय सदस्य छन्।
बीपीका जेठा छोरा प्रकाश कोइरालाले पनि लामो समय राजनीति नै गरे। ५१ र ५६ सालको संसदीय निर्वाचनमा विजयी भएर वन तथा भू संरक्षण मन्त्रीसम्म भए । कृष्ण प्रसादका काइला छोरा केशव र पत्नी नोना कोइराला कांग्रेसको सक्रिय राजनीतिमा थिए । केशव र नोनाका जेठा छोरा डा। शेखर कोइराला कांग्रेस केन्द्रीय सदस्य छन्।
कृष्ण प्रसादका अन्तरे छोरा तारणी प्रसाद कोइराला राजनीतिको साथै साहित्य र पत्रकारितामा समेत संलग्न थिए। उनको निधनपछि छोरी कल्पनाका श्रीमान् लक्ष्मण बहादुर बस्नेत कांग्रेसको राजनीतिमा सक्रिय भए । उनले कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको २२ वर्षसम्म अध्यक्षको पद छाडेनन्।
कृष्ण प्रसादकै कान्छा छोरा गिरिजा प्रसाद कोइराला पाँच पटकसम्म प्रधानमन्त्री भए। उनी नवौंदेखि ११औं महाधिवेशनसम्म पार्टीको सभापति भए। गिरिजा प्रसादकी एक मात्र छोरी सुजाता कोइराला मन्त्री र उपप्रधानमन्त्री भइसकेकी छन् भने हाल कांग्रेसको राजनीतिमा सक्रिय छिन्। सुजातालाई स्थापित गराउन गिरिजाले ठूलो कसरत गरेका थिए।
कृष्ण प्रसादकी जेठी छोरी इन्दिरा आचार्य पनि राजनीतिमा थिइन्। इन्दिराकी जेठी छोरी शैलजा आचार्य नेपालको पहिलो महिला उपप्रधानमन्त्री बन्न सफल भइन्।
इन्दिराकी कान्छी छोरीसँग कांग्रेस नेता चक्र बास्तोलाको विवाह भएको थियो। बास्तोलाकी भाञ्जी सरिता प्रसाईं कांग्रेसको राजनीतिमै सक्रिय छिन्। पूर्वउपप्रधानमन्त्री सुवर्ण शमशेरका नातेदारहरू कांग्रेसको राजनीतिमा हाल उदयशम्शेरले स्थान जमाइरहेका छन्।
कांग्रेसका पूर्वउपसभापति तथा नेता प्रकाशमान सिंह कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंह र नेपाल महिला संघकी सस्थापक नेता मंगलादेवी सिंहका छोरा हुन् । गणेशमान सिंहका धर्मपुत्र पीएल सिंह काठमाडौं महानगरका मेयर नै भए।
कांग्रेस प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण र डा रामशरण महत नाताले दाजुभाइ हुन्। प्रकाशशरण निर्वाचनमा विजयी नै नभइ अर्थ, ऊर्जा र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाए। रामशरण कहलिएका अर्थमन्त्री भए।
कांग्रेसका युवा नेता तथा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य तथा बारम्बार मन्त्री भएका अर्जुननरसिंह केसी ज्वाइँ–ससुरा हुन्। केसीकी कान्छी छोरीसँग गगनको विवाह भएको हो। पूर्वसांसद जगदीश्वर नरसिंह केसी अर्जुननरसिंहका सहोदर भाइ हुन्। उनी कांग्रेस नुवाकोटको सभापति समेत भए।
कांग्रेसका केन्द्रीय सदस्य स्वर्गीय खुमबहादुर खड्काकी श्रीमती शिलालाई सांसद नै बनाइयो। कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँड र सांसद मञ्जु खाँड श्रीमान श्रीमती हुन्। मञ्जु अहिले सांसदको लोगो भिरेर हिड्न सफल भएकी छिन्। कांग्रेस नेता उमेशजंग रायमाझी र राष्ट्रिय सभाका निवर्तमान सांसद रमेशजंग रायमाझी सहोदर दाजुभाइ हुन् । उनीहरुले राजनीतिमा प्रशस्त अवसर लिएका छन्।
एमाले नेतृ अष्टलक्ष्मी शाक्य र पूर्वएमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा श्रीमान–श्रीमती हुन्। उपप्रधानमन्त्री ईश्वर पोखरेल र पूर्व सभासद् मीरा ध्वजु श्रीमान श्रीमती हुन्। उनीहरुले पार्टीबाट विभिन्न फाइदा लिइसकेका छन्।
नेता राजेन्द्र पाण्डे र अर्का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे दाजुभाइ हुन्। पूर्व उपसभामुख डा शिवमाया तुम्वाहाम्फे र प्रतिनिधिसभाका सदस्य भइसकेका विजय सुब्बा दाजु–बहिनी हुन्। नेकपा मालेका संस्थापक महासचिव सीपी मैनाली कम्युनिस्ट नेता राधाकृष्ण मैनालीका सहोदर भाइ हुन्। उनीहरुले राज्यको जिम्मेवार पदमा बसेर काम गर्ने अवसर पाए।
प्रदेश मुख्यमन्त्री भइसकेका शंकर पोखरेल र प्रतिनिधिसभा सांसदमा जिम्मेवारी सम्हालिसकेकी सुजिता शाक्य श्रीमान–श्रीमती हुन्। पूर्वकानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ र प्रदेश सांसद भइसकेकी उषाकला राई श्रीमान श्रीमती हुन्। हालका मन्त्री रघुवीर महासेठ र प्रतिनिधिसभा सदस्य भइसकेकी जुली महतो श्रीमान श्रीमती हुन्।
एमालेका पूर्वअध्यक्ष स्वर्गीय मनमोहन अधिकारी र एमाले नेता भरतमोहन अधिकारी दाजुभाइ हुन्। मनमोहनका छोरा बुहारी शान्ति अधिकारी सांसद नै बनिन्। नेकपा केन्द्रीय सदस्य पूर्व मुख्यममन्त्री हिक्मत कार्की र पूर्व सभासद् दीपक कार्की दाजुभाई हुन्। कार्की दाजुभाई एमाले अध्यक्ष केपी ओलीकै क्षेत्रका भएकाले पनि पटक–पटक अवसर लिइरहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकोे मेयर छिन्। रेणुलाई मेयरको टिकट दिलाउने बेलामा प्रचण्डले तत्कालीन गठबन्धनसँग ठूलै संघर्ष गर्नुपरेको थियो।
दाहालकी कान्छी छोरी गंगाका श्रीमान् जीवन आचार्य कोशी प्रदेशमा मन्त्री भए। प्रचण्डकी बुहारी (छोरा स्वर्गीय प्रकाशकी श्रीमती) बिना मगर खानेपानी मन्त्रीको कुर्सी सम्हालिन्। दाहालका भाइ (काकाको छोरा) नारायण दाहाल अहिले राष्ट्रिय सभा अध्यक्ष छन्। नारायणलाई अध्यक्षको पद दिलाउन प्रचण्डले सत्ता समीकरण नै परिवर्तन गर्न भ्याए।
नेता हरिबोल गजुरेल र नेता सीपी गजुरेल दाजुभाइ (दाजुभाइका छोराहरु) हुन्। पूर्व सभामुख ओनसरी घर्ती मगर र अर्थमन्त्री वर्षमान पुन श्रीमान श्रीमती हुन्। प्रचण्डका प्रिय पात्र मानिएका पुन दम्पत्ती सक्रिय राजनीतिमा मात्र छैनन् पदीय जिम्मेवारी आलोपालो रुपमा ग्रहण गरिरहेका छन्।
उर्जामन्त्री शक्ति बस्नेत र पूर्वमन्त्री एवं सांसद सत्या पहाडी श्रीमान–श्रीमती हुन्। पूर्व गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माका भाइ अनिल शर्मा अखिल क्रान्तिकारी हुँदै पार्टीको विभिन्न तहमा सक्रिय छन्। माओवादी केन्द्रका महासचिब देव गुरुङकी श्रीमती यशोदा गुरुङ सुवेदी प्रतिनिधिसभा सदस्य भइसकेकी छन् । हितमान शाक्य र सांसद भइसकेकी अमृता थापा मगर श्रीमान श्रीमती नै हुन्।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र नेतृ हिसिला यमी श्रीमान श्रीमती हुन्। हिसिलाले मन्त्रीसम्मको जिम्मेवारी लिइसकेकी छिन्। भट्टराईकी छोरी मानुषी पनि राजनीतिमै सक्रिय छिन्। उनी काठमाडौं ७ बाट प्रतिनिधि सभा सदस्य पदमा चुनावी प्रतिस्पर्धा नै गरिन्। अर्धभूमिगत वामपन्थी नेता मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाकी प्रतिनिधिसभा सांसद भइसकेकी दुर्गा पौडेल श्रीमान श्रीमती हुन् । दुर्गाले समानुपातिक र प्रत्यक्षगरी प्रतिनिधि सभामा अवसर नै पाइन्।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र पूर्वमन्त्री जयन्त चन्द बाबु–छोरा हुन्। नेता राजेन्द्र महतोकी श्रीमती शैलदेवी महतो सभासद नै भइन्। राजकिशोर यादवकी श्रीमती सरिता यादव पूर्व सांसद नै हुन्। नेताहरुको नातागोताको लहरो लामो छ। स्थानीय तह र प्रदेशमा जिम्मेवारी पाएका नेताहरुको नाता सम्बन्ध केलाउने हो भने बंशवाद र नातागोताको हाँगाबिँगा बाक्लै देख्न पाइन्छ।
विश्लेषक एवम लेखक डा देवी क्षेत्री दुलाल नातागोता र बंशवाद स्वाभाविक भएपनि योगदान, सक्रियता र क्षमतालाई पनि मूल्यांकन हुनुपर्ने बताउँछन्। ‘सहानुभूतिका नाममा परिवारका जोसुकै पात्रलाई अगाडि बढाउँदा सक्रिय कार्यकर्तामा निराशा छाउनसक्छ। संगठनभित्र विग्रह हुनसक्छ। यसबारे जुनसुकै दलहरु सचेत हुनुपर्छ,’उनले भने।
इलाम २ उपनिर्वाचनका लागि एमालेबाट उम्मेदवार बनेका सुहाङले २०७८ मा मात्र इलाम नगर कमिटीबाट एमालेको सदस्यता लिएका थिए भने हालसम्म मतदानको प्रयोग गर्ने अवसर पाएका छैनन्। ३० वर्षसम्म उनैका बुबालाई निर्वाचन जिताउन लागेका नेतालाई पछिपार्दै टिकट लिएका सुहाङले संभवत यसैपाली पहिलो पटक मताधिकार प्रयोग गर्दैछन्। आफैं उम्मेदवार बनेर पहिलो पटक मताधिकार प्रयोग गर्न पाउने पहिलो नेता संभवत उनै हुनेछन्।