भारतीय जनता पार्टीका पूर्व महासचिवले भने : ‘नेपालको लोकतन्त्रविरुद्ध कसैले षड्यन्त्र गर्न सक्दैन’


चैत १७, काठमाडौं । भारतीय जनता पार्टीका पूर्व महासचिव राम माधवले नेपाल र भारतले दुवै देशका भाषा, संस्कृति र सभ्यताको पुनरूत्थानका लागि सहकार्य गर्नुपर्ने बताएका छन्।

समान संस्कृति र सभ्यता भएका दुइ छिमेकी किन यो कार्यमा सँगसँगै अघि बढिरहेका छैैनन् भनेर उनले जिज्ञासा राखे। काठमाडौंमा आयोजना गरिएको तीन दिवसीय नेपाल–भारत संस्कृत सम्मेलनको समापन समारोहमा मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै राम माधवले नेपाल र भारत लोकतन्त्र भएका देश भएकाले भारत सदैव नेपालको लोकतन्त्रको सफलता चाहन्छ भने। उनले नेपालको लोकतन्त्र सफल बनाउने जिम्मेवारी नेपालीहरुकै भएकाले यसमा कसैले पनि षड्यन्त्र र हस्तक्षेप गर्न नसक्ने बताए।

माधवले भने, ‘यहाँ कस्तो शासन व्यवस्था चाहिन्छ ? यसको निर्णय यहाँका मानिसले नै गर्नुपर्छ । हामी साझा संस्कृति र साझा विरासतका मानिस हौं। यो राजनीतिक विषय नै होइन। यो सभ्यताको विषय हो। एउटै सभ्यताका व्यक्ति भएको नाताले हामीले एकआपसमा मिलेर काम गर्नुपर्छ। यो संम्प्रभुताको विषय होइन।’

राम माधव इन्डिया फाउण्डेशनका चेयरपर्सन हुन्, उनी राष्ट्रीय स्वयंसेवक संघ (आरएसएस) को अखिल भारतीय कार्यकारी मण्डलका सदस्य पनि हुन्। यही २७ मार्च देखि २९ सम्म सञ्चालित सम्मेलन नीति अनुसन्धान प्रतिष्ठान, नेपाल, इन्डिया फाउण्डेशन र केन्द्रीय संस्कृत विश्वविद्यालयको संयुक्त संयोजनमा सञ्चालन भएको आयोजकले जनाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?