आरसीबीलाई हराउँदै केकेआरको आइपीएलमा दोस्रो जित


चैत १७, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले लगातार दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी) लाई ७ विकेटले पराजित गरेको हो।

आरसीबीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो। केकेआरले ३ विकेट गुमाएर १६।५ ओभरमा लक्ष्य पूरा गर्यो।

टस हारेर पहिला व्याटिङ गरेको आरसीबीको सुरुआत भने खास रहेन। आरसीबीका कप्तान फाफ डु प्लेसिस जम्मा ८ रन बनाएर आउट भएका थिए। त्यसपछि विराट कोहली र क्यामन ग्रीन मिलेर आरसीबीको पारि सम्हाले। यी दुई खेलाडीले ४२ बलमा ६५ रनको साझेदारी गरेका थिए।

दोस्रो विकेटको रुपमा ग्रीन २१ बलमा ३३ रन बनाएर आउट भए। उनी आउट हुँदा आरसीबीले नौं ओभरमा ८२ रन बनाएको थियो। एक छेउँमा डटेका कोहलीलाई साथ दिन ग्लेन म्याक्सवेल क्रिजमा आएका थिए। दुई पटक जीवनदान पाएका म्याक्सवेलले १९ बलमा २८ रनको जोडेर आउट भए। त्यसपछि रजत पटिदार र अनुज रावत तीन तीन रनमा आउट भए। अन्त्यमा विराट कोहली र दिनेश कार्तिकले आरसीबीको स्कोर १८२ रन बनाए। कार्तिकले ८ बलमा २० रन बनाउँदा तीन छक्का प्रहार गरे। उनी अन्तिम बलमा रनआउट भएका थिए । उता, विराट कोहलीले भने ५९ बलमा चार छक्का र चार चौकाको मद्दतले ८३ रनको नटआउट पारि खेले।

केकेआरका लागि हर्षित राणा र आन्द्रे रसेलले समान दुई, दुई विकेट लिए। १८३ रनको लक्ष्यसहित मैदान उत्रिएको कोलकताले उत्कृष्ट सुरुआत गरेको थियो। पहिलो विकेटका लागि फील साल्ट र सुनिल नारेनले ८६ रनको साझेदारी गरे। केकेआरले ६.३ ओभरमा सुनिल नारेनलाई गुमाएको थियो। उनी २२ बलमा ४७ रन बनाएर पभेलियन फर्किए। आफ्नो पारिमा पाँच छक्का र दुई चौका प्रहार गरे। त्यसपछि फिल साल्ट दोस्रो विकेटको रुपमा आउट भए । उनले २० बलमा ३० रन बनाउँदा दुई दुई चौका र छक्का प्रहार गरे।

बेंकटेश अय्यरले ३० बलमा ५० रनको अर्धशतकीय पारि खेल्दा केकेआर जित नजिक पुगेको थियो। उनलाई कप्तान श्रीयस अय्यरले साथ दिए। बेंकटेश आउट हुँदा १५.१ ओभरमा केकेआरले १६७ रन बनाएको थियो। त्यसपछि श्रीयस र रिंकु सिंहले केकेआरलाई सहज जित दिलाए। श्रीयसले २४ बलमा ३९ रनको नटआउट पारि खेल्दा दुई चौका र दुई छक्का प्रहार गरे। रिंकु सिंह ५ रनमा नटआउट रहे।

आरसीबीका यस दयाल, मयंक डागर र बिजयकुमारले समान एक एक विकेट लिए। जारी प्रतियोगितामा कोलकाता लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा रहेको छ। यसैगरी आरसीबी भने तीन खेल खेल्दा दोस्रो हार व्यहोरेको छ।

आईपीएल अन्तर्गत आज लखनऊ सुपर जायन्टस र पञ्जाव किंग्स भिड्दै छन्। लखनऊ पहिलो जितको खोजिमा हुँदा पञ्जाव दोस्रो जित निकाल्ने लक्ष्यमा हुने छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?