युरोकपको उपाधिका लागि फ्रान्स र पोर्चुगल भिड्दै, कसको सम्भावना कति ?
युरोकप फुटबलको उपाधिका लागि आइतबार राति फ्रान्स र पोर्चुगल भिड्दैछन् । फ्रान्सको पेरिसमा हुने खेल दुबै टोलीका लागि सहज हुनेछैन ।
घरेलु टोली फ्रान्स आफ्नै भूमिमा तेस्रो पटक उपाधि जित्ने अभियानमा छ । सन् १९८४ मा आफ्नै भूमिमा युरोकप जितेको फ्रान्सले सन् १९९८ मा घरेलु समर्थको माझ विश्वकप फुटबलको उपाधि उचालेको थियो ।
फ्रान्स फेरी एकपटक घरेलु मैदान र समर्थकमाझ युरोकपको उपाधि उचाल्ने अभियानमा छ । तर फ्रान्सको यात्रामा पोर्चुगलले बाधा र्पुयाउन सक्छ । पोर्चुगल कुनै पनि मूख्य फुटबल प्रतियोगिताको पहिलो उपाधि जित्ने अभियानमा छ ।
आफ्नै राष्ट्रमा सन् २००४ मा आयोजित युरोकपको फाईनलमा ग्रिससँग १–० ले हारेको पोर्चुगल यसपटक पहिलो उपाधिका लागि संघर्ष गर्दैछ । समुह चरणमा एक खेल पनि जित्न नसकेको पोर्चुगल तीन खेलबाट तीन अंक जोड्दै समुहमा तेस्रो भएर राउण्ड अफ सिक्सटिनमा पुगेको थियो ।
राउण्ड अफ सिक्सटिनमा क्रोएसियालाई अतिरिक्त समयमा हराएको पोर्चुगलले क्वाटरफाईनलमा पोल्याण्डलाई टाई ब्रेकरमा पराजित र्गयो ।
यसैगरी सेमिफाईनलमा वेल्सलाई २–० ले हराउँदै पोर्चुगलले फाईनलमा स्थान सुरक्षित गरेको हो । उता फ्रान्सले समुह चरणमा रोमानिया र अल्बानियालाई हराएको थियो भने स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो ।
राउण्ड अफ सिक्सटिनमा आयरल्याण्डलाई हराएको फ्रान्सले क्वाटरफाईनलमा आईसल्याण्डलाई ५–२ ले पाखा लगाएको थियो । सेमिफाईनलमा जर्मनीलाई २–० ले हराएपछि आयोजक फ्रान्सलाई उपाधिको मुख्य दावेदारको रुपमा हेरिएको छ ।
तर पोर्चुगलविरुद्धको खेल उसका लागि सहज भने पक्कै हुनेछैन । आइतबारको खेलमा पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डो, नानी र रेनाटो सान्चेजको खेल महत्वपूर्ण मानिएको छ भने फ्रान्सका लागि डिमित्री पायट, पउल पोग्बा र एन्टोनियो ग्रेजम्यानको खेल हेर्न लायक मानिएको छ ।