‘नयाँ समीकरण विरुद्धका घेरा तोड्ने लडाइँ जारी छ’
चैत १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले सरकारको नेतृत्व गर्दै थालेको नयाँ समीकरणले मात्र समाजवादको बाटो कोर्न सक्छ भन्ने विश्वासको साथ ‘जनयुद्ध’को बेलामा भन्दा धेरै खटेर अघि बढेको बताएका छन्।
शनिबार काठमाडौंमा माओवादीको ‘२४ औं जेल ब्रेक स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ समीकरण रणनीतिक, दूरगामी र क्रान्तिकारी भए तापनि धेरै जोखिम र चुनौतीपूर्ण रहेको बताए। नयाँ समीकरणका विरुद्धका लगातार घेरा तोड्ने लडाइँ जारी रहेको उनको भनाइ छ।
उनले भने, ‘अहिले हामी समाजवादी मोर्चा भनेर हामीले एउटा केन्द्रीकरण गर्ने कोसिस गरेका छौं। अहिले सरकारको नेतृत्व गर्दै जुन नयाँ समीकरण गरेको छु, त्यो रणनीतिक छ, दूरगामी छ। मेरो विश्वासमा क्रान्तिकारी पनि छ, जोखिम छ, चुनौती छ। तर, यसले मात्रै सबै देशभक्त वामपन्थी र कम्युनिष्टलाई एक ठाउँमा केन्द्रीत गर्न सक्छ र यसले मात्रै नेपाली मौलिकता विशेषताको समाजवादको बाटो कोर्न सक्छ भन्ने विश्वासको साथ म अहिले जनयुद्धको बेलामा भन्दा धेरै खटेको छु, बढी लडेको छु। लगातार घेरा तोड्ने लडाइँ जारी छ। म त लडिराखेकै छु।’
उनले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताए। राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाउने उनको भनाइ छ।
उनले भने, ‘माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ।’
निराशा बाँड्ने तथा पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गदै उनले सबैलाई एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गरे।