आइपीएलमा लखनऊ जायन्ट्सको पहिलो जित


चैत १८, काठमाडौं । विश्वकै सर्वाधिक चर्चित फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्टसले पहिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा लखनऊले पञ्जाव किंग्सलाई २१ रनले पराजित गरेको हो । पञ्जावको भने दोस्रो हार हो।

पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९९ रन बनाएको थियो। २०० रनको जवाफी ब्याटिङमा पञ्जावले ५ विकेट गुमाएर १७८ रनमात्रै बनाउन सक्यो। पञ्जावका लागि कप्तान शिखर धवन र जोनी बेरिस्टोले उत्कृष्ट सुरुआत गरे पनि जित दिलाउन भने असफल भए।

पहिलो विकेटका लागि ११.४ ओभरमा धवन र वेरिस्टोको बीचमा १०२ रनको साझेदारी भएको थियो। तर, वेरिस्टो २९ बलमा ४२ रन बनाएर आउट भएपछि पहिलो झड्का लाग्यो। त्यसपछि १२८ रन हुँदा पञ्जावले प्रभासिमरन सिंहलाई गुमायो । उनी ७ बलमा १९ रनको पारि खेलेर पभेलियन फर्किएका थिए।

त्यसपछि जितेश शर्मा ६ रन बनाएर आउट भएपछि १३९ रन बन्दा तेस्रो विकेट गुमेको थियो। धवन क्रिजमा हुँदासम्म पञ्जाव खेलमा हावी भएका थियो। तर, कप्तान धवन ५० बलमा ७० रनको पारि खेल्दै १६।२ ओभरमा आउट भएपछि लखनऊ खेलमा फर्कियो। उनी आउट हुँदा ४–१४१ को स्कोर भएको थियो।
लगत्तै साम करण डकआउट भएपछि पञ्जावले आफ्नो पकडबाट खेल गुमाएको थियो। अन्त्यमा लियाम लिभिङस्टोनले २८ तथा सशांक सिंहले ९ रनको नटआउट पारि खेले पनि हार भने टरेन। लखनउका मयंक यादवले ३ तथा मोसिन खानले २ विकेट हात पारे।

पहिला ब्याटिङ गर्दा लखनऊका लागि क्वीन्टन डीककले ५४ रनको अर्धशतकीय पारि खेल्दा कप्तान निकोलस पुुरनले ४२ रन बनाएका थिए। क्रुनाल पाण्ड्याले ४३ रनको नआउट पारि खेल्दा मार्कस स्टोइनिसले १९ रन जोडे। केएल राहुल १५ रन बनाएर आउट भएका थिए। लखनऊका साम करणले ३ विकेट लिँदा अर्सदीप सिंहले २ विकेट हात पारे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?