प्रधानमन्त्रीसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि मण्डलको भेट
प्रधानमन्त्री सुशील कोइरालासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । भेटमा गैरआवासीय नेपाली सङ्घको अवस्था, गैरआवासीय नेपालीले नेपालमा गरेको लगानी, नेपालमा सुध्रिँदै गरेका लगानीयोग्य वातावरण, नेपालको संविधान निर्माण प्रक्रिया, खुला विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सङ्घका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री कोइरालाले संविधानसभाको निर्वाचन भएर आफ्नो नेतृत्वमा सरकार गठन भएपछि यसले शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकासलाई मूलमन्त्र बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले मुलुकमा शान्ति र राजनीतिक स्थायित्व कायम भएको र निर्धारित समयमा संविधान आउने सुनिश्चित भएकाले लगानीको वातावरण बनिरहेको पनि उल्लेख गर्नु भयो । प्रधानमन्त्री कोइरालाले एनआरएनका अध्यक्ष घले स्वयम्ले रु आठ अर्बको लागतमा पाँचतारे होटल निर्माण कार्यको थालनी गरेर विदेशी लगानी भित्र्याउने कार्यको अग्रसरता लिनुभएकोमा बधाई पनि दिनुभयो । प्रधानमन्त्री कोइरालाले जनतालाई विकासको प्रतिफल चाहिएको बताउँदै हालै भारतसँग सम्पन्न विद्युत् व्यापार सम्झौता र भारतको जिएमआर कम्पनीसँग नेपाल लगानी बोर्डले गरेको परियोजना विकास सम्झौताले नेपालमा जलविद्युत्मा लगानी गर्ने बाटो प्रशस्त गरेको चर्चा गर्नु भयो । उहाँले संविधान निर्माणमा राजनीतिक दलहरु धेरै विषयमा सहमतिमा पुगेको र विगतमा विवादास्पद देखिएका कतिपय विषयमा पनि सहमति बन्दै गएकाले संविधान आउने कुरामा विश्वस्त हुन पनि आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले नेपालीको आफ्नो पहिचान र सम्मानका लागि पनि पहिले संविधान ल्याउन आवश्यक भएको बताउनुभयो । अध्यक्ष घलेले सङ्घप्रति अगाध माया दर्शाउँदै एनआरएन दिवसको कार्यक्रममा सरिक हुनुका साथै आफूले निर्माण गर्न लागेको होटलको शिलान्याससमेत गरिदिनु भएकोमा प्रधानमन्त्री कोइरालाप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो । अध्यक्ष घलेले खुला विश्वविद्यालयको स्थापनासम्बन्धी प्रक्रियालाई छिटो टुङ्ग्याउन सके यसले नेपालीलाई गुणस्तरीय उच्च शिक्षा लिने मार्ग प्रशस्त गर्ने धारणा राख्नु भयो । उहाँले मुलुकमा लगानीयोग्य वातावरण बन्दै गएको परिप्रेक्षयमा स्वदेशमा नै आवश्यक पर्ने सीपयुक्त जनशक्ति तयार पार्नका लागि प्राविधिक र व्यावसायिक शिक्षामा बढी जोड दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष उपेन्द्र महतोले मुलुक सम्पन्न नभए मुलुकवासीकोे सम्मान र पहिचान सार्थक नहुने बताउनुभयो । उहाँले कानुनी राज कायम गर्नका लागि संविधान ल्याउनै पर्ने र जनताको आकांक्षा पूरा गर्नका लागि विकासको गति बढाउनै पर्ने आवश्यकता औँल्याउनुभयो । भेटघाटमा लगानी, कर, र अन्य विषयका सम्बन्धमा पनि एनआरएन प्रतिनिधिले कुरा उठाउनुभएको थियो ।सो अवसरमा अर्थमन्त्री डा रामशरण महत, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार मृदुला कोइरालालगायतको उपस्थिति रहेको थियो ।