अष्ट्रेलियाका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन भिक्टोरिया महावाणिज्यदूतावासको अपिल


चैत २०, मेलबर्न अष्ट्रेलिया । आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अष्ट्रेलियाका लगानी कर्तालाई भिक्टोरियाको महावाणिज्यदूतावासले आग्रह गरेको छ। अप्रिल २८–२९ तारिख काठमाडौँमा हुने ‘नेपाल लगानी शिखर सम्मेलन २०२४’ मा सहभागी हुन अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको पहलमा भिक्टोरिया महाबाणिज्यदूतको कार्यालयले अष्ट्रेलियाका लगानीकर्तालाई अनुरोध गरेको हो। 

‘नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानीका लागि भिक्टोरियाका लगानीकर्ताहरूलाई आह्वान गरिएको महाबाणिज्यदूतको कार्यालयले जनाएको छ। 

नेपाल सरकारले आयोजना गरेको यस लगानी सम्मेलनमा सहभागी भई लाभ लिन अष्ट्रेलियावासी लगानीकर्तालाई भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले अपिल गरेका छन्। 

लगानी शिखर सम्मेलन २०२४’ लाई मध्यनजर गर्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको भन्दै विभिन्न सम्भावित साझेदार मुलुकहरुसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ। यसले नेपाल र अष्ट्रेलियाबीचको व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ’ महाबाणिज्यदूत योञ्जनले भने।  

तेस्रो लगानी सम्मेलन आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुँदैछ। 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?