‘दलहरु जनताबाट अलग भए समाजवादको बेहाल हुन्छ’


चैत २१, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रामा संविधान बाधक बने सच्याएर अघि बढ्न सक्नुपर्ने बताएका छन्। नेपाली विशेषताको समाजवाद विषयक राजधानीमा मंगलबार आयोति अन्तरक्रिया कार्यक्रममा उनले जनजीविकाको सवालमा दलहरु गम्भीर भएमात्रै समाजवादको यात्रा सार्थक हुने बताए।

उनले भने, ‘मानव जातिको विकासको अवस्थाको परिकल्पना गर्ने साम्यवादले नै हो। त्यहाँ पुग्नका लागि हामीले समाजवादको बाटोबाट नै जानुपर्छ। यो बाटोबाट जाने सन्दर्भमा अहिलेको संविधान यदि बाधक बन्छ भने त्यो बाधालाई पन्छाउने हो। यथार्थको धरातलमा टेकेर नेपाली समाजको, नेपाली राजनीतिक सापेक्षतामा हामी अगाडि बढ्ने हो, आफ्नो खुट्टामा टेकेर अगाडि बढ्ने हो । कुनै पनि कुरा स्थिर छैन, गतिशील छ । त्यसको गतिलाई बुझेर हामी अगाडि बढ्ने हो।’

समाजवाद जनताको हित गर्ने व्यवस्था भएको भन्दै उनले विकल्प अरु कुनै व्यवस्था नभएको पनि भनाइ उनले राखे। सैद्धान्तिक बहस चलाइरहँदा जनजीविकाका सवालमा के के सहजीकरण गर्नुपर्छ भन्ने पनि दलहरुले हेक्का राख्नुपर्ने उनले औंल्याए।

‘जनताबाट अलग भयौं भने समाजवादको बेहाल हुन्छ । समाजवादी पार्टीहरुको बिजोक हुन्छ। समाजवादका ठूला ठूलो कुरा गरेर मात्रै हुँदैन। हामी जनताको पीडा बेदनासँग जोडिएका छौ कि छैनौं ? समाजको गरिबी, अभाव र पछौटेपनले हामीलाई पोल्छ कि पोल्दैन ? समाजमा विद्यमान अन्याय,अत्याचार, भेदभावले हामीलाई पिरोल्छ कि पिरोल्दैन ?,’उनले भने, ‘जनताको विजोक भइरहेको छ, अनि कम्युनिष्ट पार्टी भने ठूलो भएको छ भन्ने गर्छौ उनीहरु के गरिरहेका छन्। यो पनि पार्टीभित्र छलफल गर्नुपर्ने कुरा हो।’

दलहरुको आकार ठूलो भए मात्रै व्यवस्था सफल नहुने जिकिर उनले गरे। उनले एमाले नाम नदिइ आकारप्रति कटाक्ष गरेका थिए। समाजवादको सफल कार्यान्वयनका लागि संविधानमा भएका कुनै व्यवस्थाले अवरोध गरेमा त्यसलाई सुधार गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

‘हाम्रो चुनावको प्रणालीमा समस्या छ, कुराहरु उठेका पनि छन्। तर, ती आंशिक पक्षहरु मात्रै हुन्। प्रत्येक उठेका कुराहरु आंशिक मात्रै हुन्,’उनले भने, ‘समष्टिगत रुपमा कुन कुरा लागू गर्नुपर्छ भन्ने कुरामा गहन छलफलको आवश्यकता छ। समग्रमा अहिले अघि बढ्नको लागि यो संविधान सहयोगी छ। बाधक छैन।’ समाजवादका सवालमा दलहरुबीच छलफल आवश्यक भएको पनि उनले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?