ब्रिसबेनमा काव्यसाँझ सम्पन्न, अमर न्यौपानेलाई न्यानो स्वागत
आदिकवि भानुभक्त आचार्यको जन्मोत्सवको अवसरमा ब्रिसबेनमा भानु जयन्ती मनाइएको छ । नेपाली रेडियो कार्यक्रम ब्रिसबेनले आफ्नो प्रशारणको १० वर्ष पुगेको अवसरमा आयोजना गरेको कार्यक्रममा भानुको स्मरण गरिएको हो । कार्यक्रमको आयोजना गैरआवासीय नेपाली संघ क्वीन्सल्याण्डले संयुक्त रुपमा गरेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी हुन नेपालबाट मदन पुरस्कार विजेता, प्रख्यात पुस्तक सेतो धर्तीका लेखक अमर न्यौपाने हुनुहुन्थ्यो । उक्त अवसरमा भानुभक्तीय रामायण वाचन गरिएको थियो भने स्थानीय १३ जना कविहरुले आफ्नो मौलिक रचना सुनाउनुभएको थियो । आदिकवि भानुभक्तको तस्वीरमा माल्र्यापण गरी सुरु भएको कार्यक्रममा नेपाली साहित्य फाँटमा आदिकविले गर्नुभएको योगदानको चर्चा गरिएको थियो । नेपाली भाषाका माध्यमबाट त्यतिबेलाको समाजलाई जोड्नका लागि आदकविले खेल्नुभएको भूमिकाको सबैले उल्लेख गरे । कार्यक्रमको अर्को चरणमा प्रमुख अतिथि न्यौपानेलाई क्वीन्सल्याण्डवासी नेपालीको तर्फबाट सम्मान गरिएको थियो । एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतले दोसल्ला ओढाएर न्यौपानेको सम्मान गर्नुभयो । यस लगत्तै लेखक अमर न्यौपानेसँग अन्तरक्रिया गरिएको थियो भने उहाँले आफ्ना रचना वाचन समेत गर्नुभएको थियो । Photos : Supplied