कांग्रेसबाट इलाममा खड्का र बझाङको प्रदेश ‘क’ मा सिंह उम्मेदवार
चैत २२, काठमाडौँ । सङ्घीय संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाएको छ।
पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पार्टी संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठकले ईलाम–२ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुङ्गो लगाएको हो।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ईलाम क्षेत्र नं २ मा डम्बरबहादुर खड्का र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा अभिषेकबहादुर सिंहको नाम टुङ्गो लगाएको जानकारी दिए। कांग्रेसले आगामी वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को लागि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२ (८) बमोजिम खड्का र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को लागि विधानको धारा ३२ (७) बमोजिम सिंहलाई उम्मेदवार बनाएको हो।
कांग्रेसले उपनिर्वाचनमा पार्टीको उम्मेद्वारद्वय खड्का र सिंहलाई ‘रूख’ चिह्नमा अत्यधिक मत दिएर विजयी गराउन मतदातालाई आह्वान गरेको छ। बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका पार्टीले आफ्नो उम्मेदवार यसअघि नै तोकिसकेका छन्।