रास्वपा बैठक : सरकारमा प्रभावकारिता कसरी बढाउने ?


चैत २५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आइतबार साँझ सिंहदरबारमा बसेको छ। सिंहदरबारस्थित दलको संसदीय दलको कार्यालयमा बैठक बसेको हो। बैठकमा पार्टी सरकारमा रहेको अवस्थामा खेल्नुपर्ने भूमिका र यसको प्रभावकारिता बढाउने विषयमा केन्द्रित रहेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए।

उनले भने, ‘अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ। बैठकमा हामी रास्वपा सरकारमा रहेको अवस्थामा खेल्नुपर्ने भूमिका र यसको प्रभावकारितालाई कसरी बढाउन सकिएला भन्ने विषयमा छलफल गरेका छौं । त्यस्तै, अहिले सरकारले विभिन्न विधेयकहरु ल्याएको छ। कामहरु भइरहेका छन् नै । त्यो कामलाई कसरी सम्प्रेषण गर्ने, कसरी एकरुपता ल्याउने भन्ने विषयमा छलफल भएको छ।’

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एक महिनाको अवधिमा गरेका काम कारबाहीका बारेमा बैठकमा ब्रिफिङ गरेको परियारले जानकारी दिए। त्यस्तै प्रमुख सचेतक परियारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा गरेको अवरोध खुलाउने विषयमा समेत पहल भइरहेको बताए।

उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछानेका विषयमा सहकारीको रकम अपचलन आरोपमा कांग्रेसले छानबिन समिति गठनको काम गरिरहेको छ।

उनले भने, ‘संसदको अवरोध खुलाउने विषयमा निरन्तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग म आफैं पनि पहल गरिरहेको छु। सभामुखज्युसँग पनि पहलकदमी गरिरहेका छौं। भोलि पार्टीका शीर्ष नेताहरु र प्रमुख सचेतकहरु बसेर संसद अवरोध खुलाउने विषयमा छलफल गर्छौं।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?