आइपीएलमा लखनऊ सुपर जायन्टस विजयी
चैत २६, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्टस विजयी भएको छ। आइतबार राति भएको खेलमा लखनऊले गुजरात टाइन्टन्सलाई ३३ रनले पराजित गरेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो। जवाफमा गुजरात १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा समेटियो।
पहिला ब्याटिङ गर्दा लखनऊको सुरुआत भने राम्रो रहेन। क्विन्टन डी कक एक छक्काको मद्दतले ६ रन बनाएर आउट भएका थिए। दोस्रो विकेटको रुपमा देवदत्त पडिकलले सात बलमा ७ रन बटुल्दै पभेलियन फर्किए। त्यसपछि कप्तान केएल राहुल र मार्कस स्टोनिसले पारि सम्हालेका थिए।
राहुल र स्टोनिसबीच ६२ बलमा ७३ रनको साझेदारी भएपछि लखनऊको पारि केही उकासिएको थियो। तेस्रो विकेटको रुपमा राहुल आउट हुँदा लखनऊले १२.४ ओभरमा ९१ रन बनाएको थियो। उनी व्यक्तिगत ३३ रन बनाएर आउट भएका थिए। ३१ बल फेस गर्दा राहुलको ब्याटबाट ३ चौका प्रहार भयो।
त्यसपछि भने स्टोनिस र निकोलस पुरनले मोर्चा सम्हालेका थिए। तर, स्टोनिस ४३ बलमा ५८ रनको अर्धशतकीय पारि खेलेर आउट हुँदा १४.५ ओभरमा लखनऊले ११२ रन बनाएको थियो। स्टोनिसले आफ्नो पारिमा २ छक्का र चार चौका प्रहार गरे। आयुस बाडोनीले ११ बलमा २० रन बनाएर आउट हुँदा निकोल पुरन र क्रुनाल पाण्डेले नटआउट पारि खेले। पुरनले २२ बलमा ३२ रन बनाउँदा तीन छक्का प्रहार गरे भने पाण्ड्याले २ रन बनाए।
गुजरातका उमेश यादव र दर्शन नलकन्डेले समान दुई–दुई विकेट लिँदा रासिद खानले १ विकेट हात पारे।
जवाफमा मध्यम सुरुआत गरेको गुजरातको मिडिल अर्डर चल्न सकेन। पहिलो विकेटका लागि साई सुदर्शन र कप्तान शुभमन गिलले ५४ रनको साझेदारी गरेका थिए। गिल २१ बलमा १९ रनको जोडेर पहिलो विकेटका रुपमा आउट भएका थिए। गिलपछि लगातार विकेट गुम्दा १०० रनभित्र गुजरातको ७ विकेट पतन भएको थियो। केन विलिम्सन १, बीआर शरथ २ रन बनाएर आउट हुँदा ओपनर साइ सुदर्शन २१ बलमा ३१ रनको पारि खेलेर पभेलियन फर्किए।
त्यसपछि बिजय शंकरले १७ रन जोड्दा दर्शन नलकण्डेले १२ रन बनाए। राहुल टेबटियाले ३० रन बनाउँदा रासिद खानले खाता नै खोल्न सकेनन्। उमेश यादव २ रनमा आउट हुँदा स्पेनसर जोनसोनले पनि खाता खोल्न असमर्थ भए। नुरु अहमद अन्तिम विकेटको रुपमा आउट हुँदा उनले ४ रन जोडेका थिए।
गुजरातको पारिलाई ध्वस्त पार्नका लागि यस ठाकुरले ३० रन खर्च गरेर ५ विकेट लिए। यसैगरी क्रुनाल पाण्ड्याले ३ विकेट हात पार्दा रवि विश्नोइ र नभिन उल हकले पनि एक– एक विकेट लिए।
जारी आइपीएलमा लखनऊको यो लगातार तेस्रो जित हो। आफ्नो पहिलो खेलमा पराजय भोगेको लखनऊ त्यसपछि उत्कृष्ट कमब्याक गर्दै चार खेलबाट ६ अंक बनाएर तालिकाको तेस्रो स्थानमा रहेको छ। गुजरालको भने पाँच मध्य यो तेस्रो हार हो। गुजरात ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ।