‘लण्डन टु पेरिस’को ‘खुला आकाश’ सार्वजनिक
चैत २७, काठमाडौं । २०८१ जेठ २५ गते रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’ को पहिलो गीत ‘खुला आकाश’ सार्वजनिक भएको छ। राजधानीमा मंगलबार एक कार्यक्रमबीच फिल्मका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड गीत सार्वजनिक गरिएको हो।
गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर छ। लण्डनमा छायांकन गरिएको गीतमा निश्चल र सामग्रीलाई रोमान्टिकभावमा देखाइएको छ। खुला आकाशमा रोमान्टिक जोडीको प्रेमभावलाई निश्चल र सामग्रीमार्फत देखाइएको छ।
निश्चल र साम्राज्ञीलाई लङ्गनेस फर्नान्डिजले कोरियोग्राफ गरेका छन्। फर्नान्डिज विश्वप्रसिद्ध ओस्कार अवार्डमा अवार्ड प्राप्त फिल्म ‘स्लमडग मिलेनियर’को गीत ‘जय हो’को कोरियोग्राफर हुन्।
फिल्मका निर्देशक घनश्याम लामिछानेले फिल्ममा हलिउड शैलीको मेकिङ रहेको दाबी गरे। उनले लण्डनमा फिल्म सुटिङको अनुभव सुनाउँदै विशेषत त्यहाँका प्राविधिकहरुले नेपालको फिल्म मेकिङको लेभलको प्रशंसा गरेको बताए। ‘लण्डन टु पेरिस यात्राको क्रममा भेट भएका जोडीको सांगीतिक प्रेमकथा हो। यसको सशक्त पक्ष नै कथा हो’, उनले भने।
अभिनेता निश्चल खड्काले आफूलाई ठूलो पर्दामा देख्न पाउँदा भावुक बनेको खुलाए। उनले अञ्जानको भीडबाट मलाई टिपेर फिल्ममा अनुबन्धित गरेकोमा निर्देशक लामिछाने प्रति आभार व्यक्त गरे। ‘अभिनेत्री साम्राज्ञीसँग काम गर्ने जोकोही नवकलाकारको चाहना हुन्छ। यो फिल्ममा मैले त्यो चाहना पुरा गरेको छु’, उनले भने।
अभिनेत्री सामाज्ञीले झण्डै दुई वर्षको मेहनतपछि फिल्म दर्शकमाझ आउन लागेको बताइन्। फिल्ममा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय छ । यो फिल्मबाट निश्चल र गरिमाले नेपाली रजतपटमा ‘डेब्यू’ गर्दैछन्।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन्।
सनिश खकुरेल सह–निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्माता छन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ।
फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ।