आईपीएलमा चेन्नई सुपर किंग्सको चौँथो जित


वैशाख ३, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबारको खेलमा चेन्नई सुपर किंग्सले जितेको छ। प्रतियोगिताअन्तर्गत चेन्नईको यो चौँथो जित हो । मुम्बईको घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २१ रनले पराजित गर्याे।

मुम्बईका लागि रोहित शर्माले शतकपारि खेले, तर त्यो जितका लागि पर्याप्त हुन सकेन। चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्रै बनायो। मुम्बईका लागि ओपनर रोहित शर्माले ६३ बलमा ११ चौका र ५ छक्काको सहयोगमा अविजित १०५ रनको शतकीय ईनिङ्ग्स खेलेका थिए । तिलक बर्माले २० बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाए।

अर्का ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए। पहिलो विकेटका लागि शर्मा र किशनले ४३ बलमा ७० रनको साझेदारी गरेका थिए।

यता, चेन्नईका लागि मधिशा मधिरानाले ४ तथा मुस्ताफिजुर रहमान र तुसार देशपान्डेले समान १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। चेन्नईका लागि ऋतुराज गायकवाड तथा शिभम दुवेले अर्धशतक बनाए। दुवेले ३८ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६६ रन बनाए। कप्तान गायकवाडले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६९ रन बनाए । दुवे र गायकवाडले तेस्रो विकेटका लागि ४५ बलमा ९० रनको महत्वपुर्ण साझेदारी गरेका थिए।

ओपनर रचिन रविन्द्रले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाएका थिए भने अर्का ओपनर अजिंका रहाणेले ५ रन मात्र बनाउन सके। ड्यारियल मिचेलले १४ बलमा १७ रन थपे।

यस्तै पूर्व कप्तान महेन्द्रसिंह धोनी २० रनमा अविजित रहे। उनले ४ बलमा ३ छक्का प्रहार गरेका थिए भने २ रन अन्यबाट जोडेका थिए। मुम्बईका लागि हार्दिक पान्ड्याले २ तथा जेरार्ड कोट्जे र श्रेयस गोपालले समान १–१ विकेट लिए।

छैटौं खेलबाट चौथो जितका साथ चेन्नई ८ अंकसहित तेस्रो स्थानमा कायम रहेको छ भने छैटौं खेलमा चौथो हार व्यहोरेको मुम्बई ४ अंकसहित पुछारबाट तेस्रो स्थानमा रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?