एमालेले दल छानेर मात्र एकता गर्ने


वैशाख ३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको चर्चामाथि प्रश्न उठाउँदै अहिले त्यसको आवश्यकता नपरेको धारणा ब्यक्त गरेका छन्। आज बिहान एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वामपन्थी एकताले नयाँ गठबन्धनको सरकार पनि नबन्ने र त्यसले देश पनि नचल्ने भनेर टिप्पणी गरेका छन्।

वामपन्थी एकताको बिषय आफ्नो सरोकारको भएको बताउँदै अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काम आफूले बुझेको बताएका छन्। वामपन्थी एकताको महत्व बुझेरै त्यसको विस्तार र एकताबाट संसदमा दुई तिहाइको अवस्थामा दललाई पुर्याएको उनको भनाई थियो। त्यसलाई तोडेकाले वामपन्थी एकताको आन्दोलन कमजोर भएको ओलीको गुनासो थियो।

ओलीले भने, ‘अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अघि बढ्ने, नराम्रो काम नगर्ने भनेर प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक छ। आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ।’

ओलीले कटाक्ष गर्दै भने, ‘वामपन्थी भन्ने, भोट चाहिं कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो हुँदैन्, यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले राख्नु हुँदैन। पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ।’

एमालेले एकता नै गर्दैन भन्ने अर्थ नलागोस् भन्दै ओलीले भने,‘एकता परेका बखत गर्छौं, तर छानेर।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?