पहाडी क्षेत्रमा चट्याङसहित हावाहुरी आउने, यी तीन प्रदेशमा वर्षाको सम्भावना
वैशाख ४, काठमाडौं । आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसकारण मंगलबार देशका पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना समेत रहेको विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
यस्तै, मंगलबार राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ।