जन्मु–कस्मिरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा मर्नेको संख्या ३० पुग्यो
भारत प्रशासित जम्मु काश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।
गत शुक्रबार प्रहरीको कारबाहीको क्रममा बिद्रोही संगठन हिज्बुल मुजाहिदीनका कमाण्डर बुरहान वानीको ज्यान गएपछि त्यसको विरोधमा भएको प्रदर्शनको क्रममा झप हुँदै आएको छ ।
प्रहरी र प्रदर्शनकारीबीच सोमबार भएको झडपमा सात जनाको मृत्यु भएको छ । यसअघि शनिबार र आइतबार भएको झडपको क्रममा प्रहरीसहित २३ जनाको ज्यान गएको थियो ।
बिद्रोही संगठन हिज्बुल मुजाहिदीनका कमाण्डर २२ वर्षका वानी श्रीनगरबाट ४५ माइल पर अनन्तनागमा मारिएका थिए ।
वानी मारिएपछि काश्मिरको अवस्था तनावग्रस्त भएको छ । भारत सरकारले झण्डै ८ सय थप सेना काश्मिर पठाएको छ । झडपको क्रममा दुई सय भन्दा धेरै मानिस घाइते भएका छन् ।